केराबारी, ४ फागुन
नेकपा एमालेको तर्फबाट मोरङ क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार घनश्याम खतिवडाको जनतासँग भेटघाट कार्यक्रम केराबारी गाउँपालिका वडा नं. ५ मा सम्पन्न भएको छ । भेटघाटमा स्थानीयवासीको उल्लेखनीय र उत्साहपूर्ण सहभागिता देखिएको थियो ।
भेटघाटका क्रममा स्थानीय बासिन्दाले राष्ट्रियता, विकास र समृद्धिका लागि घनश्याम खतिवडाले पुर्याएको योगदान, संसदमा ऐन निर्माणमा खेलेको भूमिका र यस क्षेत्रको आवाज बारम्बार संसदमा उठाएकाले पुनः जिताएर प्रतिनिधिसभामा पठाउने प्रतिबद्धता व्यक्त गरेका छन् । स्थानिय प्रेमबहादुर राई भन्छन्, “हाम्रो क्षेत्रका गाउँघरमा आपत÷ विपत् पर्दा बखतका समस्याहरु उहाँले सांसद हुदा पटक पटक उठाउनुभएको छ र केहि हल पनि भएका थिए । सांसदमा बोलेका भिडियो हेरीहेरि उहाँलाई भोट हाल्छौं ।’
कार्यक्रमका क्रममा स्थानीयले शिक्षा, स्वास्थ्य, सडक, रोजगारीलगायत क्षेत्रका समस्याहरू राख्दै समाधानको अपेक्षा पनि गरेका छन् । जवाफमा खतिवडाले जनताको आवश्यकता र चाहनाअनुसार नीति तथा कार्यक्रम अघि बढाउँदै जाने बताए । केही काम सम्पन्न भएतापनि अझै धेरै गर्न बाँकी रहेकाले ती काम पूरा गर्न मतदान गरी विजयी गराउन खतिवडाले सबैलाई आग्रह गरेका छन् ।
कतिपयले भने खदम खोलाको पुललाई सम्झिएर भएपनि एक भोट घनश्याम खतिवडालाई लगाउने प्रतिकृया जनाएका छन् । भेटघाटसँगै केराबारी क्षेत्रमा नेकपा एमालेको पक्षमा सकारात्मक र उत्साहजनक माहोल निर्माण भएको स्थानीय नेताहरूले बताएका छन् । कार्यक्रममा पार्टीका स्थानीय नेता–कार्यकर्ता, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।




