About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

डा. दिलनाथ दंगाल
मोरङ जिल्लाको सदरमुकाम विराटनगरबाट ५५ किमि पूर्वउत्तरमा रहेको उर्लाबारी नगरपालिका साबिकको उर्लाबारी, राजघाट र मधुमल्ला गाविसको वडा ७, ८ र ९ समेटिएर बनेको एक सुन्दर नगरपालिका हो । यसमा ९ ओटा वडाहरु रहेका छन् । यो नगरपालिका पूर्वमा झापा जिल्लाको पुरानो नगरपालिका दमक, उत्तरमा मिक्लाजुङ् गाउँपालिका, पश्चिममा पथरी शनिश्चरे नगरपालिका र लेटाङ नगरपालिका तथा दक्षिणमा रतुवामाई नगरपालिकाले घेरिएको छ । २०३५ सालमा उर्लाबारी गाउँ पञ्चायतको स्थापनाहुँदा तत्कालिन मधुमल्लाको वडा नम्वर ५ र ९ तथा लेटाङको वडा नम्वर ७, ८ र ९ मिलाएर यसको स्थापना भएको थियो भने अहिले आएर २०७३ फागुन २७ गते नगरपालिका घोषणा भएको हो । सन्थाल भाषाको उर्ला (बाघ) र वाडी (ठाउँ) अर्थात बाघ बस्ने ठाँउको रुपमा परिचित यो सुन्दर नगरी आज मोरङ जिल्लाको दोस्रो ठूलो शहरको रुपमा आफूलाई विकसित गर्ने प्रयासमा छ ।
समुद्री सतहबाट ११६ देखि १६४ मिटरसम्मको उचाईमा रहेको यो नगरपालिका ७४.६२ वर्ग किमि क्षेत्रफलमा फैलिएको छ । उष्ण मनसुन भएको यो नगरपालिकामा घरधुरी सर्वेक्षण २०७६ अनुसार १३७६१ घरधुरी र ७०६०५ जनसंख्या रहेको छ । यो पालिकामा औषत परिवार संख्या ५.१३ र जनघनत्व ९४६ व.कि.मी रहेको छ । त्यसैगरी सबै भन्दा बढी जनसंख्या २० देखि २४ बर्ष उमेरको देखिन्छ भने आर्थिक रुपले सक्रिय रहेको जनसंख्या ५९ प्रतिशत रहेको छ । यहाँको कुल जनसंख्याको ७०.९२ प्रतिशतले नेपाली, ५.८५ प्रतिशतले लिम्बु र ५.८३ प्रतिशतले धिमाल भाषा बोल्दछन् भने धर्मका आधारमा हेर्दा यहाँ ८० प्रतिशत हिन्दु, ८.२६ प्रतिशत किराँत र ६.४३ प्रतिशतले बौद्ध धर्म मान्दछन् साथै अन्य धर्म मान्नेहरुको संख्या पनि यहाँ रहेको पाईन्छ । यहाँको प्रमुख पेशा भनेको कृषि र पशुपालन नै हो । पेशाका हिसावले यहाँ १३.१ प्रतिशत कृषिमा, ८.२४ प्रतिशत वैदेशिक रोजगारमा, ७.५५ प्रतिशत अध्ययनमा, ३.९ प्रतिशत ब्यापारमा, २.९ प्रतिशत नोकरीमा र ४.१ प्रतिशत ज्यालामजदुरीमा रहेका छन् भने १९.४३ प्रतिशत जनसंख्या अहिले पनि घरधन्दामा सीमित रहेको तथ्यांकले देखाउँछ ।
शिक्षा तर्फ हेर्ने हो भने २२ ओटा सामुदायिक र ३३ ओटा निजी विद्यालयहरु तथा चार ओटा कलेजहरुले शिक्षा प्रदान गरिरहेका छन् । कुल जनसंख्याको ७९ प्रतिशत साक्षार रहेको यो नगरपालिकामा नेपाली र लिम्बु यहाँ बोलिने प्रमुख भाषा हुन् । यहाँ ब्रामण, क्षेत्री, लिम्बु, नेवार, धिमाल, राई र तामाङ् मुख्य समुदायहरु रहेका छन् भने यी समुदायहरुले गाई, भैसी, बाख्रा पालन गर्ने र धान, मकै, गहुँ जस्तो मुख्यवाली लगाएर आफ्नो नगरलाई कृषि प्रधान नगर भनेर चिनाएका छन् । यहाँका मानिसहरुले सञ्चारको मुख्य साधनको रुपमा मोवाइल फोनलाई प्रयोग गर्ने गरेका छन् भने धारा र ट्युवेल यहाँका जनताको खानेपानीको मुख्य स्रोत रहदै आएको छ ।
आय आर्जनका हिसावले समग्रमा ४७२१ घरपरिवारको मासिक आम्दानी करिव २५००० हाराहारीमा रहेको छ । यी परिवारहरुको खर्चतर्फ हेर्ने हो भने आम्दानीको सम्पूर्ण हिस्सा खर्च भएको देखिन्छ । तर अली बढी आय हुने परिवारहरु पनि छन् जसको बचत हुने गर्छ । यस्ता परिवारहरुमा औसत ५०० देखि १००० बचत गर्ने परिवारको संख्या सबै भन्दा बढी रहेको छ । उच्च आय भएका ठूला ब्यापारीहरुको परिवार संख्या भने २१९ रहेको छ, जसको बचत पनि उच्च नै रहेको छ ।
यो नगरपालिकाको अधिकांश भुभाग खेतियोग्य भएको र अब्यवस्थित शहरिकरणका कारणबाट कृषि योग्य जमिन नासिदै गएको हुनाले समयमा नै योजना बनाएर अगाडी बढ्नु पर्ने देखिन्छ । त्यसैगरी सार्वजनिक पोखरीमा माछा पालन गर्न सकिने सम्भावनाहरु रहेको देखिन्छ भने मौरी पालन र रेशम खेतीको पनि उत्तिकै सम्भावना छ यो नगरपालिकामा । अझै पनि नगरभित्र आफ्नो उत्पादनले खान नपुग्ने परिवारहरु छन् । यो पालिकाभित्र रहेका विभिन्न धार्मिक, ऐतिहासिक, साँस्कृतिक, पुरा तात्विक आदीले पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेलेको देखिन्छ । प्रत्येक वडामा एक भन्दा बढी नै बजार तथा व्यापारिक केन्द्र रहेकोले ब्यापारमा यो पालिका सधै अगाडी नै देखिन्छ भने ३५ ओटा क्लिनिक, ८ ओटा अस्पताल, १ ओटा स्वास्थ्य चौकी आदीले स्वास्थ्य क्षेत्रमा योगदान दिइरहेको तथ्यांकले देखाउछ । ९ सामुदायीक वनहरु र चारकोशे झाडीको केहि भुभाग गरि दुई प्रतिशत भन्दा बढी वन यो पालिमा भित्र रहेको छ । पुर्व पश्चिम राजमार्गको ५.६७ किमी र उर्लाबारी मधुमल्ला सडकको ८.९ किमी भाग यो नगरपालिका भित्र पर्दछ भने अन्य पक्की, ग्राभेल र कच्ची सडकहरु पनि यस पालिका भित्र पर्दछन् । जसले गर्दा अहिले लगभग सडक निर्माणका हिसावले अब्बल नै मानिन्छ यो पालिका । खाना पकाउने इन्धनका हिसाबले हेर्ने हो भने ६६ प्रतिशतले ग्याँस र ३१ प्रतिशतले दाउरा प्रयोग गर्ने गरेको पाईन्छ भने उज्यालोकालागि ९७.५ प्रतिशतले विजुली, १.३ प्रतिशतले मट्टीतेल र १.२ प्रतिशतले बैकल्पिक उर्जाको प्रयोग गर्ने गरेका छन् ।
यो नगरपालिकाको मुख्य चोकबाट उत्तर मिक्लाजुुङहुँदै पाँचथरको रविसम्म जानेबाटो र दक्षिणतर्फ हुदै सिधा जिल्ला सदरमुकाम पुग्ने वैकल्पिक बाटो रहेकोले यसको फैलावट, ब्यापार र पर्यटनमा सहजिकरण हुने अवस्था देखिन्छ । त्यसैगरी बक्रा खोला, मावा खोला, सोल्टी खोला र बेतनी खोला लगायत आधा दर्जन जति खोला नालाहरु यो नगरपालिकामा रहेको हुनाले कृषिमा सिँचाई गर्न सहयोगि हुने देखिन्छ । यो नगरपालिकामा आवादी क्षेत्र, घना जंगल र सिमसार क्षेत्र, धार्मिक तथा कबुलियत वन साथै पुर्वपश्चिम राजमार्गले छोएको हुनाले पनिे विकासका प्रसस्त सम्भावनाहरु रहेका छन् यो नगरपालिकामा ।
अघिल्लो कार्यकालमा उर्लाबारी नगरपालिकाले आफ्नो पालिका भवन निर्माण तथा केहि हदसम्म भए पनि बाटोहरु ग्राभेल, कल्भर्टहरुको निर्माण, विद्यालय भवनहरुको निर्माण, मन्दिरहरुको निर्माण र मर्मत, युवाहरुलाई लक्षित गरी विभिन्न खाले शिपमूलक तालिम, क्षमता अभिबृद्धि तालिम, चेतनामूलक कार्यक्रम, कृषिमा तालिमहरु सम्पन्न गरि सकेको छ । यहाँका ३०६२ जनाले कृषिको, ६५५ जनाले सुचना प्रविधीको, ५६९ जनाले सिलाईको, ८८५ जनाले सवारी चालकको, २८० जनाले होटल सम्वन्धी, १११ जनाले ब्यूटी पार्लर सम्वन्धी र १० जनाले हस्तकला सम्वन्धी तालिम लिएको देखिन्छ । नगरपालिकाका यी तथ्यांकहरुलाई ध्यानमा राखेर हिजो के भयो अव कसरी अगाडी बढ्ने भनेर सहि ढंगलबाट योजना छनोट गरी सोहि अनुसार बजेट निर्माण गर्न सके पालिकाको विकासमा सफलता प्राप्त हुनेछ । तसर्थ यो लेखमा सहि योजना छनोट गरी बजेट निर्माण गर्ने प्रकृयाको छोटो वर्णन गर्ने प्रयास गरिएको छ ।
गणतन्त्र पछिको दोस्रो स्थानीय निर्वाचन सम्पन्न भएर प्रगतीशिलहरुको नेत्रित्व पाएको छ यो पालिकाले । यो पालिकामा पहिलो कार्यकालको पाँच वर्ष सम्पन्न हुदा केहि कामहरु भएका छन भने धेरै कामहरु गर्न बाँकी छन् । सबै भन्दा महत्वपूर्ण काम भनेको विकास गर्ने आधार तयार भएको छ भने पालिकाले काम गर्ने अनुभव प्राप्त गरेको अवस्था छ । यो नवनिर्वाचित टिमले पुरानो अनुभवलाई लिएर अगाडी बढ्नु पर्ने हुन्छ । सबै भन्दा महत्वपूर्ण कुरा के छ भने नेपालमा राजनिती गर्ने र चुनाव जित्नेहरुमा म नै सर्वेसर्वा हुँ, सबै कुरो मलाईमात्र आउछ, सबैको विज्ञ म नै हँु भन्ने भ्रम छ । त्यसकारण पनि म यो पालिकाका प्रतिनिधीहरुलाई के आग्रह गर्छु भने पालिकामा काम सुरु गर्नु भन्दा पहिला विकास विज्ञ, अर्थशास्त्री, वातावरणविद्, कानुनविद् आदीहरुको टिम बनाएर अगाडी बढ्नुहोस यसो गर्न सक्नु भयो भने तपाईले सफलता हात पार्नु हुनेछ ।
सम्वैधानीक ब्यवस्था अनुसार असार १० गते पालिकाले आफ्नो बजेट ल्याउनु पर्ने हुन्छ । केन्द्रको बजेट हेर्दा बजारमा देखिएका सबै कुरालाई समेटेको तर प्राथमिकता स्पस्ट नभएको र कार्यान्वयन गर्न कम्तीमा पनि २० खर्व रकम लाग्ने खालको बजेट छ जुन कार्यान्वयनमा चुनौपूर्ण छ । तसर्थ म उर्लाबारी नगरपालिकालाई आफ्नो बजेट बनाउदा संघीय सरकारले दिने ६१ करोड १७ लाख, प्रदेश सरकारले उसको बजेट मार्फत दिने रकम र आफ्नो आन्तरिक आय स्रोतले भ्याउने तथा आर्थिक विकासका क्षेत्रमा, पुर्वाधार विकास (शिक्षा, स्वास्थ्य, खानेपानी, युवा तथा खेलकुद र समावेशिकरण), समाजिक विकास र वन, वातावरण तथा विपद् व्यवस्थापन गरी चार क्षेत्रमा केन्द्रीत रहेर आफ्नो बजेट तयार गर्न अनुरोध गर्दछु ।
आर्थिक विकासका क्षेत्रमाः यो क्षेत्रमा कृषि पकेट क्षेत्रहरुको पहिचान गर्नुका साथै विउमा अनुदान, विभिन्न प्रकारको तरकारी खेती, फलफुल खेतीका बारेमा खासै अनुसन्धान र काम हुन नसकेको अवस्था छैन् । कृषि तथा पशुजन्य वस्तुहरुबाट उत्पादन भएका वस्तुहरुको माग र मूल्य निर्धारण र बजारीकरण गर्न नसकेको अवस्था छ । संकटको समयमा कृषकको उत्पादन बजार सम्म पुर्याउन समस्या भएको अथवा त्यो विद्यमान रहेको अवस्थामा कृषि एम्बुलेन्सको ब्यवस्था गर्न, प्राङ्गारिक मलको उत्पादन गर्ने बैज्ञानिक र सरल विधी खोज्न, मल्टी नेशनल कम्पनीका उत्पादनहरु बिक्री हुने बजारमा हाम्रा स्थानीय उत्पादनहरु महि, लस्सी, ढीडो, भक्का आदीको बजार विस्तार गर्न, गाउँमा हाम्रा दिदी बहिनी आमाहरुसँग विउ र कृषि उत्पादन भण्डारण गर्ने अपार क्षमतालाई आधुनीकीकरण गर्न, कृषि विकासकालागि एक पालिका एक जेटिएको ब्यवस्था गर्न, कृषकहरुलाई आवस्यक पर्ने कृषि तालिमको ब्यवस्था गरी हाम्रा युवाहरुलाई कृषिमा सपना देखाउन, स्थानीय तहमा उपलब्ध स्रोतहरुको उच्चतम प्रयोग गरी साना तथा घरेलु उद्योगहरुको स्थापना हुन नसकेको अवस्था छ । त्यसैगरी पर्यटनमा क्षेत्रमा हेर्ने हो भने पछिल्लो समयमा छोटो विदामा नजिकैका पार्क, धार्मीक स्थलहरु र लामो समयमा टाढाका ठाँउ घुम्न जाने संस्कृतिको विकास भएको छ र यसकालागि अन्तरपालिकामा एकिकृत योजना ल्याउन बाँकी रहेको छ । एउटा पर्यटकले यो पालिकामा घुम्न आएपछि यहाँ उसलाई तिर्खालाग्दा शुद्ध पिउने पानी प्राप्तहोस्, पिसाव लागेमा चर्पीको ब्यवस्थाहोस्, भोकलागेमा सुलभ मूल्यमा खाना वा खाजा खाने ठाँउ भेट्टावस्, सडक पेटीमा सहज ढंगले हिड्न पावस् र थकाई लाग्दा सुस्ताउनका लागि चौतारो वा पार्कहोस् यती भए यो पालिकामा पर्यटकहरु घुम्न आउछन । तसर्थ यो पालिकालाई एक गाँउ एक घुम्ने ठाँउको रुपमा विकास गरी वरीपरीको पालिकामा सीमित पर्यटकहरुलाई आफ्नो गाँउसम्म लैजाने योजनामा चुकेको अवस्था छ । त्यसैले बजेट विनियोजन गर्दा यी क्षेत्रहरुको अवस्था हेरेर गर्न सकियो भने आर्थिक विकासको क्षेत्र सवलहोला ।
पुर्वाधार विकासः पुर्वाधार विकासका क्षेत्रमा गएको पाँच वर्षमा डोजरे विकास र नदीनाला दोहनको ठूलै आरोप खेप्नु परेको छ पालिकाले । नदीनाला दोहन त यती धेरै अब्यवस्थीत छ की यसका कारणले एकातीर खोलाका धारहरु नै परिवर्तन हुने अवस्था छ भने अर्को तीर खोला छेउका व्यतीहरुको नीजि जमिनमा पनि जवरजस्ती वालुवा झिक्ने काम भएको छ । सर्व प्रथम नगरपालिकाले यसलाई रोकेर वस्तीका जनताहरुको सहकार्यमा मात्र यो काम गर्नु पर्ने देखिन्छ । त्यसैगरी वैकल्पिक उर्जा र सुधारिएको चुलो वितरणमा पनि खासै कामहरु हुन सकेको छैन । यो अवधीमा सुचना तथा संचार प्रविधीमैत्री प्रसासन बनाउने प्रयास पनि भनेजति सफल देखिदैन यो पाँच वर्षमा । सामुदायीक विद्यालयहरुलाई इन्टरनेट मैत्री बनाउने प्रायास भने केहि हदसम्म सफल भएको छ । तर, स्थानीय सडक निर्माणमा पुरानो तरिकाले सडक बनाउनुको सट्टामा हरित सडक निर्माणमा जोडदिने, स्थानिय श्रमिक र उपकरणको प्रयोगमा जोडदिनु पर्ने छ अवका पाँच वर्षमा । तर, संघीय र प्रदेश सरकारले दिने अनुदानलाई उच्च प्रतिफल दिने क्षेत्रमा लगानी गर्न नसकिएको, रोजगारी बढाउन पालिका भित्र रहेका सार्वजनिक जग्गा, पार्क, पोखरी, साना तथा घरेलु उद्योगकालागि उच्चतम प्रयोग गर्न नसकिएको अवस्था छ तसर्थ बजेटमा यी कुराहरु समेट्नु पर्ने देखिन्छ यो क्षेत्रको विकासकालागि ।
समाजिक विकास
(क) शिक्षाः यो क्षेत्रमा निवर्तमान जनप्रतिनिधीहरुले विद्यालय भवन निर्माण, छात्रावृत्ति वितरण, अनुदान कोटामा शिक्षहरुको नियुक्ति, इन्टरनेटको विस्तार, दिवा खाजाको व्यवस्था, पुस्ताकालय र वाचनालयको निर्माण गर्ने प्रायास गरेपनि धेरैकामहरु हुनबाँकी छन् । तसर्थ पनि यो बजेटमा यस विषयमा सचेत हुनु पर्ने देखिन्छ ।
(ख) स्वास्थ्यः १५ शैयाको अस्पताल निर्माण, स्वास्थ्य चौकी मार्फत विभिन्न खाले औंषधीहरुको वितरण, स्वास्थ्यमा कर्मचारीहरुको व्यवस्थापन, स्वास्थ्य शिविर संचालन, स्वास्थ्य संस्थाहरुको निर्माण जस्ता क्षेत्रमा बजेटको समायोजन गर्न सके स्वास्थ्य क्षेत्रमा पनि आशा गरेजति सफलता प्राप्त गर्न सकिन्छ ।
(ग) खानेपानीः घरघरमा खानेपानीको धाराको व्यवस्थापनकालागि एक घर एकधाराको अवधारणा अनुसार अगाडी बढ्न सके पालिका भित्र दीर्घकाल सम्म खानेपानीको समस्या आउने छैन् ।
(घ) युवा तथा खेलकुद पालिका स्तरिय खेलकुद मैदानको निर्माण, भलिवल कोर्ट, वास्केटबलकोर्टको निर्माण सम्भव हुने ठाँउमा फुटसल र जिमशालाको निर्माण पनि गर्न सकिन्छ बजेटले भ्याएमा ।
(ङ) समावेशीकरणः विपन्न र कमआय भएका महिलाहरुलाई महिला शिपविकास तालिम, अगरवत्ती बनाउने तालिम, झोला माक्स, स्यानीटाइजार, झोल साबुन निर्माण तालिम, अपाङ्ता परिचय पत्रको वितरण, बालक्लव निर्माण, जेष्ठ नागरिकहरुको सम्मान गर्नकनलागि पनि बजेटमा ब्यवस्था गर्न सके बजेट सुन्दर हुन्छ भने सुसासनको क्षेत्रमा पनि केहि न केहि गर्नु पर्ने अवस्था देखिन्छ यो पालिकामा ।
वन, वातावरण र विपद् व्यवस्थापनः यो क्षेत्रमा वनक्षेत्रको सुरक्षाकालागि वातावरणको निर्माण, पोखरीका संरक्षण, खोलाको कटान रोक्न तारजालि निर्माण सम्पन्न, वृक्ष रोपन सम्पन्न, विपद् व्यवस्थापन कोष निर्माण, भुकम्प, वाढी, पहिरो, आगलागीले क्षती भएका परिवारलाई राहत वितरण सम्वन्धी व्यवस्था पनि गर्नु पर्छ यो बजेटमा भने संघीय सरकारसँग मिलेर पर्यटन र उद्यमशिलताको विकास गर्न, वनमा रहेका पुराना र कुकाठलाई त्यहाँबाट झिकेर वढी उत्पादन दिने रुखहरु जस्तो बोधीचित्त, रुद्राक्ष, खयर, साल आदी लगाउन, नदी खोला, ताल, सिमसारलाई आन्तरिक र वाह्य पर्यटकहरुको केन्द्र बनाउन पनि बजेटमा ब्यवस्था गर्नु पर्छ ।
स्थानीय तहको बजेट निर्माणको प्रकृया हेर्ने हो भने यो फागुनबाट निर्माण हुन सुरु भई श्रावण १५मा समाप्त हुन्छ । यसै सन्दर्भमा यो पालिकाले बजेट बनाउदा स्रोत समिति र राजस्व समितिको निर्माण गरी त्यसलाई पूर्ण क्षमतामा काम लगाउनु पर्ने, बस्ती स्तरबाट योजना छनोट गर्ने भनिएकोमा यसको पूर्ण कार्यान्वयन गर्ने र सम्झौता भएका योजना समयमानै सम्पन्न गर्ने र नगरपालिका गौरव योजनाहरुलाई सम्पन्न गर्ने नीति यो पालिकाले निर्माण गर्न सके उसले बनाउने बजेट सहज ढंगले कार्यान्वयन हुन्छ । संघीयताको अनुभूति दिलाउने यो पालिकाको दोस्रो कार्यकालको पहिलो बजेट पनि भएको हुनाले विगतमा पालिकाले ल्याएका बजेटहरुको समिक्षा गर्दै केन्द्र र प्रदेशसँग सहकार्यगरी बजेट तयार गर्नुपर्ने देखिन्छ । यो पालिकाले सबैभन्दा बढी कोरोना कहरले थलीएको आफ्नो अर्थतन्त्रलाई विस्तारै लयमा फर्काउदै अर्थतन्त्रको पुर्नउत्थान गर्ने खालको बजेट ल्याएमा सुन्दर हुनेछ । तर सामान्यतया अन्य स्थानिय तहको बजेट निर्माणमा हेर्दा अनुभवको अभाव, केन्द्र र प्रदेशबाट आउने बजेट ढिला हुने, बजेट निर्माणका सात चरण पुरा नभइ बजेट बन्ने, आकार ठुलो बनाउने लगायतका केहि मानसिकता केन्द्रसँग मिल्ने, आन्तरिक स्रोतको १० प्रतिशत ऋण उठाउन पाउने भनिएको भएता पनि सो ऋण कसले उठाइदिने स्पष्ट आधार नभएको अथवा बजेटको आकार ठुलो पार्न आन्तरिक ऋण देखाउने तर सो ऋण कहाँबाट उठाउने भन्ने स्पष्ट नहुने । प्राय बजेटहरु निर्माण हुँदा विज्ञहरुको सुझावले कम स्थान पाउने, जनताका इच्छा र आकांक्षाहरु नसमेटिने, भविष्यको दृष्टिकोण पनि स्पष्ट नहुने, कार्यान्वयनमा असफल भएका शिर्षकहरु दोहोरि रहने तर निरन्तरता पाउनु पर्ने कार्यक्रमले निरन्तरता नपाएबाट पनि स्थानिय तहको बजेट सफल हुन नसकेको देखिन्छ । तसर्थ यो नगरपालिकाले बजेट निर्माण, कार्यान्वयन र अनुगमन तथा यसको मुल्यांकन यी तीनै पक्ष सवल रहेको बजेट निर्माण नै महत्वपूर्ण हुने छ ।
त्यसैगरी यो बजेटबाट नै अब पाँच वर्ष पछि आउने निर्वाचनमा मतदान गर्न विद्युतीय प्रणालीको प्रयोग गरी मतदान गर्ने अवस्थाको वातावरण मिलाउदै लैजानु पर्छ । यसो गर्न सकेमा निर्वाचन प्रणाली छिटो छरितो, कम खर्चिलो, सबैको सहभागिता गराउन सकिने र धादली रहित हुनेछ । त्यसैगरी हाम्रो उर्लाबारीमा जथाभावी हुने गरेको पार्किङको ब्यवस्थापनमा पनि समयमा नै ध्यान दिनु पर्ने देखिन्छ । सडक चौडा बनाउने नाममा सरकारी निकायले जनताको करोडौको घर भत्काएर बाटो चौडा गर्ने अनी उक्तबाटोलाई आज पार्किङमा प्रयोग गर्दा ती घर भत्किने जनता प्रति न्याय पक्कै हुदैन । त्यसैगरी पालिकामा फुटपाथमा नजिकका पसलले फुटपाथ अतिक्रमण गरेर पैदल यात्री हिड्ने ठाउँ नै छैन् । यो विषयमा पनि आफ्रनो बजेट र आगामी बर्षको योजनामा समेटनु पर्ने देखिन्छ । शहरीकरणका नाममा जथाभावी हुने गरेका जग्गा प्लटिङलाई पनि बन्द गर्नु पर्छ र शहरलाई सभ्य मानिसहरु बस्न सक्ने थलोका रुपमा विकास गर्नुपर्छ ।
त्यसैगरी नगरपालिकाले आफ्नो योजना बनाउने क्रममा अरु स्थानीय निकायहरुका अनुभवहरुलाई पनि प्रयोगमा ल्याउनु पर्छ । यसै सन्दर्भमा नेपाल सरकारसित मिलेर विश्व बैंकले नेपालको समग्र विकास गर्नकालागि परियोजना बनाइरहेको र सो परियोजना करिब १ सय ५० मिलियन डलर बराबरको रहेको बताएको छ । खासगरी यो परियोजना अन्तर्गत भारतसित सीमाना जोडिएका नेपालका ठूला सहरहरूको आर्थिक विकासका लागि विश्व बैंकले अध्ययन गरिरहेको र यसै क्रममा विराटनगरलाई सहयोग गर्न विश्वबैंक तयार रहेको अवस्थामा उर्लाबारी नगरपालिकाले पनि यस तर्फ पहल गर्न सके नगरको विकासकालागि खर्च जोहो गर्न सजिलो पर्छ, भने अन्य आन्तरिक आयका स्रोतहरु पनि विज्ञहरुको सहयोगमा पहिचान गर्नु जरुरी हुन्छ । त्यसैगरी विश्व खाद्य कार्यक्रम र संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रमको सहयोगमा कर्णाली प्रदेशका १५ ओटा पालिकाहरुमा स्थानीय तह पूर्वाधार सहयोग कार्यक्रम सञ्चालन हुने भएको छ । सो कार्यक्रम अन्तर्गत पूर्वाधार विकास र जलवायु परिवर्तन अनुकूल फोहोर मैला व्यवस्थापन लगायतको क्षेत्रमा काम सञ्चालन हुदैछ । यस्ता कार्यक्रमहरु हामीकहाँ पनि पूर्वाधार विकास र फोहोरमैलाको दीगो ब्यवस्थापनकालागि आवश्यक देखिन्छ । यसतर्फ पनि पहल गर्दा विकासमा सहज होला ।
तसर्थ यो नगरपालिकामा धेरै चुनौती, आवश्यकता र सम्भावनाहरु रहेको हुनाले साथै स्थानीय सरकार राजनीतिक र आर्थिक हिसावले मजबुत हुने हुनाले आगामी बजेटहरुलाई परम्परागत ढंगबाट भन्दा पनि माथी उल्लेख गरिएका चार क्षेत्रमा विभाजन गरेर निर्माण गर्न सके सबैले गरिखाने र सभ्य मानिस बस्न सक्ने शहरको रुपमा विकास गर्न सकिन्थ्यो यो पाँच वर्षमा नगरपालिकालाई ।
                                                                                                         (डा. दंगाल त्रिविमा प्राध्यापनरत अर्थशास्त्री हुन्)

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय