
उर्लाबारी, ४ साउन
उर्लाबारीमा राष्ट्रिय परिचय पत्र विवरण संकलन कार्यक्रम सुरु हुने भएको छ । केही दिनभित्रमै उर्लाबारीका ९ वटै वडामा कार्यक्रम सुरु हुने राष्ट्रिय परिचय पत्र व्यवस्थापन जिल्ला समन्वय समिति मोरङका संयोजक तथा प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए ।
आज उर्लाबारी नगरपालिकामा आयोजित राष्ट्रिय परिचय पत्र विवरण संकलन कार्यक्रम सम्बन्धी अभिमुखीकरण कार्यक्रममा प्रजिअ दाहालले मोरङका मिक्लाजुङमा परिचय पत्र विवरण संकलनको कार्यक्रम अन्तिम चरणमा पुगेको र त्यहाँ सक्ने बित्तिकै उर्लाबारीमा सुरु गरिने बताए । उनले तीन चार दिनभित्रमा उर्लाबारीमा कार्यक्रम सुरु हुने जानकारी दिए । मोरङका ७ वटा स्थानीय तहमा यो कार्यक्रम सम्पन्न भएको बताउँदै उनले थप एक स्थानीय तहमा अन्तिम चरणमा पुगेको जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले वडा वडामा सञ्चालन हुने अभियानबाट लाभ लिन नगरबासीलाई अनुरोध गरे । यो कार्यक्रममा सहजीकरण गर्न वडाध्यक्षलगायत सदस्यहरुलाई उनले आग्रह गरे । नगर उपप्रमुख मीना खतिवडा पौडेलले वडामा सञ्चालन हुने कार्यक्रममा कोही पनि नछुटी सबैले राष्ट्रिय परिचय पत्र बनाउनु पर्ने बताइन् । अभिमुखीकरणमा ९ वटै वडाका वडाध्यक्ष, रुजु अधिकारीहरु, नगरपालिकाका कर्मचारीको सहभागिता रहेको थियो । राष्ट्रिय परिचय पत्र व्यवस्थापन जिल्ला समन्वय समिति मोरङका संयोजक तथा प्रजिअ काशीनाथ खनालको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
