About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २४ फागुन
प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङ जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक सफलता हासिल गरेको छ । जिल्लाका सबै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी हुँदै क्लिन स्वीप गर्न सफल भएका छन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजाअनुसार मोरङका सबै क्षेत्रमा रास्वपाका उम्मेदवारले प्रतिस्पर्धी दलका उम्मेदवारलाई फराकिलो मतान्तरले पराजित गरेका छन् । जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरू विजयी हुँदै क्लिन स्वीप गरेका हुन् ।
अन्तिम मत परिणामअनुसार मोरङ क्षेत्र नम्बर १ मा रास्वपाका यज्ञमणि न्यौपाने २७ हजार ३६७ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी श्रम संस्कृति पार्टीकी शान्ति पाख्रिन लामाले १७ हजार ५२२ मत पाइन् । यहाँ नेपाली कांग्रेसका खड्ग फागोले ११ हजार ९८६ र नेकपा एमालेका घनश्याम खतिवडाले ९ हजार ८२३ मत प्राप्त गरे ।
क्षेत्र नं. २ मा ४० हजार ९२४ मतका साथ रास्वपाका कृष्णकुमार कार्की निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का दिलिपकुमार अग्रवालले १५ हजार ६२४ र नेपाली कांग्रेसका डा. मिनेन्द्र रिजालले १२ हजार ७६४ मत प्राप्त गरे । क्षेत्र नम्बर ३ मा आफ्ना प्रतिद्वन्द्वीलाई १२ हजारभन्दा बढी मतान्तरले पराजित गर्दै रास्वपाका गणेश कार्की निर्वाचित भएका छन् । उनले ३६ हजार ९२४ मत ल्याएर निर्वाचित हुँदा निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुनिलकुमार शर्माले २४ हजार ३ सय ५४ मत पाए । यहाँ श्रम संस्कृति पार्टीका अमिर मगरले १६ हजार ५०९ र नेकपा एमालेका इरन राईले ७ हजार ७५२ मत प्राप्त गरे ।
उता, क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेलाई २८ हजार मतान्तरले पराजित गर्दै रास्वपाका सन्तोष राजवंशीले सानदार विजय हासिल गरेका छन् । राजवंशी ४० हजार ८३३ मतका साथ विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी घिमिरेले १२ हजार ८१८ मत प्राप्त गरेका थिए । यहाँ निवर्तमान सांसद तथा नेकपाका उम्मेदवार अमललाल मोदीले १० हजार ७६३ मत प्राप्त गरी तेस्रो बने । एमालेका जीवन घिमिरेले ६ हजार ९३३ मत पाए ।
मोरङ क्षेत्र नम्बर ५ मा ३० हजार ४३४ मत प्राप्त गरी रास्वपाकी आशा झा निर्वाचित भएकी छिन् । उनले नेपाली कांग्रेसका फूलकुमार लालबानीलाई २१ हजार मत अन्तरले पराजित गरिन् । लालबानीले ९ हजार ४१५ मत पाए । जसपाका राजकुमार यादवले ८ हजार ७४७ र नेपाली कम्युनिष्ट पार्टीका शिवकुमार मण्डलले ८ हजार ६१४ मत पाए ।
मोरङ क्षेत्र नं. ६ मा रास्वपाकी रुविना आचार्यले सानदार विजय हासिल गरेकी छिन् । आचार्यले ५५ हजार ५१३ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डा. शेखर कोइरालाले १२ हजार ८५० मत प्राप्त गरे । यहाँ एमालेका बिनोद ढकालले ८ हजार ३१७ मत प्राप्त गरेका छन् । मोरङमा २०७९ को निर्वाचनमा नेपाली कांग्रेसले ३, नेकपा एमाले, तत्कालीन नेकपा माओवादी केन्द्र र स्वतन्त्रले १÷१ सिट जितेका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय