ताप्लेजुङ, २६ माघ
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेको छ । १६ औँ राष्ट्रपति रनिङ शिल्ड अन्तरपालिका स्तरीय ताप्लेजुङ जिल्ला प्रतियोगितामा २३ स्वर्ण, २० रजत र १२ कास्य गरी कुल ५५ पदकसहित मैवाखोला गाउँपालिकाले उपाधि जितेको हो । गत वर्षपनि मैवाखोला विजेता बनेको थियो ।
सिदिङ्वा गाउँपालिकामा आज सम्पन्न प्रतियोगितामा आठराई त्रिवेणी गाउँपालिका दोस्रो भएको छ । आठराई त्रिवेणीले १३ स्वर्ण, १३ रजत र २१ कास्यसहित कुल ४७ पदक जितेको छ । यस्तै, ११ स्वर्ण, ८ रजत र २३ कास्य गरी ४२ पदकका साथ फुङ्लिङ नगरपालिका तेस्रो बनेको छ ।
यस्तै, सिदिङ्वा गाउँपालिकाले ९ स्वर्ण, १२ रजत र १६ कास्य गरी कुल ३७ पदक, मेरिङ्देन गाउँपालिकाले ४ स्वर्ण, ५ रजत र ६ कास्यसहित १५ पदक, मिक्वाखोला गाउँपालिकाले ३ स्वर्ण, ५ रजत र १७ कास्य गरी २५ पदक, सिरिजङ्गा गाउँपालिकाले २ स्वर्ण, १ रजत र ५ कास्यसहित ९ पदक, पाथीभरा याङवरक गाउँपालिकाले १ स्वर्ण, २ रजत र २ कास्य गरी ५ पदक जितेका छन् भने फक्ताङ्लुङ गाउँपालिका पदकविहीन रहेको छ । माघ २३ गतेबाट सुरु भएको प्रतियोगितामा कुल २३४ पदकका लागि प्रतिस्पर्धा गराइएको थियो ।
लगातार दोस्रो वर्षको उपाधि जितेसँगै मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले पदक विजेता खेलाडी विद्यार्थीलाई बधाई ज्ञापन गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘यो जीत अलिकति हामीहरूको हो, अलिकति प्रशिक्षक र शिक्षक शिक्षिकाहरुको हो र मैवाखोला गाउँपालिकाको हो । तर सबैभन्दा धेरै हाम्रा कलिला भाइबहिनीहरु, जो हाम्रा भविष्य हुन् उनीहरुको हो । सबै भाइबहिनीहरुलाई धेरै धेरै माया अनि बधाईसहित अझ सफलताको शुभकामना ।’




