उर्लाबारी, ४ माघ
मोरङको उर्लाबारी–६ स्थित कुडोस विद्यासदनकी छात्रा खुशी भट्टराईले राष्ट्रिय स्तरको अवार्ड जितेकी छिन् । पोखरामा सम्पन्न विद्यार्थी गुणीय चक्र (एसक्यूसी) को १९ औं राष्ट्रिय सम्मेलनमा कुडोस विद्यासदनको कक्षा ९ मा अध्ययनरत छात्रा खुशीले मनसा मेमोरियल सम्पूर्ण गुणी व्यक्ति अवार्ड प्राप्त गरेकी हुन् ।

विद्यार्थी गुणीय चक्रको क्षेत्रमा कार्यरत संस्था क्वेष्ट नेपालको आयोजनामा पोखरास्थित सेन्ट मेरिज स्कुलमा पुस ३० देखि माघ २ गतेसम्म भएको सम्मेलनमा देशभरका करिब ८५ विद्यालयका झन्डै ६ सय जना विद्यार्थी तथा शिक्षक प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सम्मेलन अन्तर्गत विभिन्न पाँच विद्यालयका पाँच जना विद्यार्थीले मनसा मेमोरियल सम्पूर्ण गुणी व्यक्ति अवार्ड प्राप्त गरेका छन् । ती मध्ये कुडोसकी खुशीले पनि अवार्ड पाएकी हुन् । पाँच सहभागीलाई मात्र प्रदान गरिने उक्त अवार्ड प्रा. डा. दिनेश चापागाईंकी छोरी मानसीको स्मृतिमा स्थापना गरिएको हो । विद्यार्थीको नेतृत्व विकास, गुणस्तरीय सिकाइ र सहकार्यमा आधारित गतिविधिहरूमा प्रभावकारी भूमिका निर्वाह गरेबापत उक्त सम्मान प्रदान गरिएको हो ।



यस्तै, कुडोसकी कक्षा ९ की छात्रा युनिसा बोहोरा ट्रेजर हन्टमा जित हासिल गरेकी छिन् । सो अवसरमा कुडोस विद्यालयले कल्चरल प्रोग्राम पनि गरेको थियो । कुडोसका कक्षा ६ देखि कक्षा ९ सम्मका ६ विद्यार्थीहरु टोली नेता कक्षा ८ का प्रियस दाहालको नेतृत्वमा सहभागी भएका थिए ।


