About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ४ फागुन
मोरङ क्षेत्र नं. १ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कुशल लिम्बूले आफ्नो प्रतिवद्धता सार्वजनिक गरेका छन् । आज उर्लाबारीमा पत्रकार सम्मेलन गरी प्रतिवद्धता सार्वजनिक गरेका हुन् ।
उनको प्रतिवद्धतामा मोरङ क्षेत्र नं. १ लाई पर्यटन केन्द्रका रूपमा विकास गर्दै ५० लाख जनसंख्यालाई बसोबास गर्न सक्ने आधुनिक सहर निर्माण गर्ने लक्ष्य अघि सारेको छ । सुपारी खेतीलगायत नगदेबालीलाई राष्ट्रबालीको रूपमा सूचीकृत गराउने, कृषिको आधुनिकीकरण र जैविक उत्पादनमा जोड दिने योजना पनि सार्वजनिक गरिएको छ । उर्लाबारीलाई आर्थिक तथा प्रशासनिक केन्द्रका रूपमा विकास गर्ने, भ्रष्टाचार निर्मूल गरी सुशासन कायम गर्ने, शिक्षा र स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने, प्राकृतिक स्रोत–साधन जनहितमा सदुपयोग गर्ने तथा प्रत्येक पालिका केन्द्रमा विपद् व्यवस्थापनका लागि ‘सेफ हाउस’ स्थापना गर्ने प्रतिबद्धता पनि पार्टीले जनाएको छ ।
त्यस्तै, संविधान संशोधन गरी शासकीय स्वरूप परिवर्तनका लागि आवाज उठाउने, सूचना तथा सञ्चारमा आम नागरिकको पहुँच विस्तार गर्ने र “हाम्रो लगानी, हाम्रो आम्दानी” कार्यक्रममार्फत स्थानीय स्तरमै व्यापक रोजगारी सिर्जना गर्ने योजना अघि सारिएको छ ।
पार्टीले विकासलाई पहुँचको आधारमा नभई आवश्यकता र महत्वको आधारमा कार्यान्वयन गर्ने अठोट व्यक्त गर्दै आधारभूत जनजीविकाका सवाल आफ्नै पालामा समाधान गर्ने प्रतिबद्धता जनाएको छ ।
सो अवसरमा निर्वाचन परिचालन समिति संयोजक उपेन्द्र घिमिरेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई “सामान्य प्रतिस्पर्धा नभई व्यवस्था विरोधी र संविधान तथा लोकतन्त्रका पक्षधर शक्तिबीचको निर्णायक संघर्ष” को रूपमा व्याख्या गरे । देशलाई अस्थिरता, हिंसा र अराजकतातर्फ धकेल्ने शक्तिहरूलाई पराजित गर्नु ऐतिहासिक आवश्यकता भएको उनको भनाइ थियो । पार्टीले राजनीतिलाई परिवर्तनको माध्यम र जनसेवाको साधन बनाउने प्रतिबद्धता दोहो¥याउँदै जनताको निरन्तर साथ, सहयोग र खबरदारी आवश्यक रहेको उल्लेख गरेको छ । राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणलाई चुनावी नारा मात्र नभई कर्तव्यको रूपमा लिएको पार्टीले जनाएको छ । आगामी निर्वाचनमा ‘तारा’ चुनाव चिन्हमा मतदान गर्न आग्रह गर्दै पार्टीले जनताको समर्थनबाट इतिहास निर्माण गर्ने दृढ संकल्प व्यक्त गरेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय