उर्लाबारी, १९ पुस
नेपाल रेडक्रस सोसाइटी उर्लाबारी उपशाखाको ३० औँ वार्षिक साधारण सभा तथा युरेस÷जुरेस रेडक्रस सर्कलको दीक्षान्त समारोह सम्पन्न भएको छ । आज उर्लाबारीस्थित सगरमाथा बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा आयोजित कार्यक्रममा दीक्षान्त, सम्मान तथा प्रमाणपत्र वितरण कार्यक्रम गरिएको हो ।
सो कार्यक्रममा १४ वटा विद्यालयका ७० जना युरेस÷जुरेस सदस्य तथा प्रत्येक विद्यालयबाट १÷१ जना शिक्षक नायक वा सहनायकलाई दीक्षान्त गरिएको थियो । दीक्षान्तका क्रममा रेडक्रसको झण्डा, पिन, स्टिकर तथा युरेस÷जुरेसको विधान वितरण गरिएको थियो । उनीहरुलाई नेपाल रेडक्रस सोसाइटी मोरङ जिल्लाका मन्त्री सुरेन्द्र गिरीले दीक्षान्त गराएका थिए ।
सो अवसरमा ३५ जना आजीवन सदस्यलाई प्रमाणपत्र वितरण गरिएको थियो भने २० वटा रक्तदान कार्यक्रम सञ्चालन गरेका विभिन्न संस्थालाई प्रशंसापत्र प्रदान गरिएको थियो । लामो समयदेखि रेडक्रसमा रही सक्रिय योगदान पु¥याउँदै आएका उर्लाबारी निवासी गणेश खत्री, कमलनारायण मल्लिक र राजेन्द्रकुमार बस्नेतलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

यस्तै, गत आर्थिक वर्षमा सबैभन्दा बढी रक्तदान गर्ने संस्थाहरूलाई समेत सम्मान पत्र प्रदान गरिएको थियो । १ सय ९ पिन्ट रगत संकलन गर्दै लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्था पथरी प्रथम, ९५ पिन्ट संकलन गरेको सामुदायिक विकास मञ्च दोस्रो तथा ७३ पिन्ट रगत संकलन गरेको राष्ट्रिय युवा संघ नेपाल उर्लाबारी नगर कमिटी तेस्रो स्थानमा रहँदै प्रशंसापत्र प्राप्त गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले रेडक्रसको उर्लाबारी–४ स्थित भवन क्षेत्रमा वर्षौंदेखि बसोबास गर्दै आएका भूमिहीन तथा सुकुमबासीलाई नगरपालिकाअन्तर्गतका अन्य खाली स्थानमा स्थानान्तरण गरी उचित व्यवस्थापन गरिने बताउनुभयो । साथै उहाँले व्यवस्थापनपश्चात उक्त क्षेत्र खाली गराई रेडक्रसलाई थप व्यवस्थित रूपमा सञ्चालन गरिने बताउनुभयो ।
कार्यक्रममा संस्थाको आर्थिक वर्ष २०८१÷०८२ को आयव्यय विवरण कोषाध्यक्ष द्रोण अधिकारी, सभापतिको प्रतिवेदन तथा भावी कार्यक्रम सभापति भानुभक्त शर्मा पराजुलीले प्रस्तुत गर्नुभएको थियो । साधारणसभामा प्रस्तुत सबै प्रतिवेदन सभाले सर्वसम्मत रूपमा पारित गरेको सचिव सुवास भण्डारीले जानकारी दिनुभयो ।
सो कार्यक्रममा रेडक्रस मोरङ जिल्लाका कार्यालय प्रमुख संजय कामत, इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक रञ्जन बराल, सशस्त्र बेस क्याम्प उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक दिलीप बस्नेत, रेडक्रस मोरङका निवर्तमान जिल्ला सभापति सुवोधकुमार सिंहलगायत रेडक्रसका प्रतिनिधिहरुको अतिथ्यता रहेको थियो ।
रेडक्रस उर्लाबारी उपशाखाका सभापति भानुभक्त शर्मा पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन रेडक्रसका उपसचिव एवम् युरेस÷जुरेस रेडक्रस संयोजक सचिन शाक्यले गर्नुभएको थियो । साथै उपसभापति भगीरथा अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो ।
वि.सं. २०५२ सालमा उर्लाबारीमा स्थापना भएको नेपाल रेडक्रस सोसाइटी उर्लाबारी उपशाखामा हाल ६ सय ३५ जना आजीवन सदस्य रहेका छन् । आर्थिक वर्ष २०८१÷०८२ मा रेडक्रस तथा विभिन्न संस्थासँगको सहकार्यमा ८ सय ५३ पिन्ट रगत संकलन गरिएको उपसचिव शाक्यले जानकारी दिनुभयो ।




