About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १९ पुस
नेकपा एमाले उर्लाबारी नगर कमिटीको आयोजनामा बधाई, शुभकामना तथा वनभोज कार्यक्रम भव्य र उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ । नेकपा एमालेको ११ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गर्दै पार्टी संगठनलाई थप मजबुत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका सचिव तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की रहनुभएको थियो । महाधिवेशनबाट निर्वाचित केन्द्रीय सचिव कार्कीसहित केन्द्रीय सदस्यहरू जीवन घिमिरे, ऋषिकेश पोख्रेल र दिलिप बगडियालाई खदा र माला लगाएर सम्मान तथा बधाई ज्ञापन गरिएको थियो ।
उर्लाबारी–२ स्थित प्रगतिशील सामुदायिक वनमा सम्पन्न वनभोज कार्यक्रममा हजारौँ नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको थियो । ठूलो संख्यामा देखिएको उपस्थिति र उत्साहले उर्लाबारी क्षेत्रमा नेकपा एमालेको संगठनात्मक बलियो उपस्थितिको स्पष्ट सन्देश दिएको सहभागीहरूले बताएका छन् ।
कार्यक्रममा नेकपा एमाले कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा, मोरङ जिल्ला कमिटी सचिव सोमराज थापालगायत प्रदेश, जिल्ला र स्थानीय तहका नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो । नगर कमिटी अध्यक्ष निरोज तिम्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा टोल, वडा र नगर कमिटीका पदाधिकारी, पार्टी सदस्य तथा विभिन्न जनवर्गीय संगठनका प्रतिनिधिहरूको व्यापक सहभागिता देखिएको थियो ।


मन्तव्यका क्रममा प्रमुख अतिथि मुख्यमन्त्री कार्कीले पार्टीको ११ औँ महाधिवेशनले संगठनलाई नयाँ ऊर्जा दिएको उल्लेख गर्दै जनताको पक्षमा परिणाममुखी काम गर्न नेता–कार्यकर्तालाई आग्रह गर्नुभयो । प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले पार्टीभित्र एकता, अनुशासन र संगठन विस्तारलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले स्थानीय तहमा एमाले नेतृत्वले जनताको अपेक्षा अनुसार काम गरिरहेको बताउँदै आगामी दिनमा विकासका काम अझ तीव्र बनाइने धारणा राख्नुभयो ।


सो अवसरमा विभिन्न पार्टी परित्याग गरी एक सय जना नेकपा एमालेमा प्रवेश गरेका छन् । पार्टी नगर सचिव चेतन सिग्देलले सञ्चालन गर्नुभएको कार्यक्रममा उपसचिव अमृता नेपालीले स्वागत मन्तव्य राख्नुभएको थियो । औपचारिक कार्यक्रमपछि सहभागीहरूले वनभोजसँगै नाचगान, सांस्कृतिक कार्यक्रम र आपसी भेटघाटमार्फत उत्साहपूर्वक समय बिताएका थिए । कार्यक्रमले पार्टीभित्र आपसी एकता, सहकार्य र संगठनात्मक सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेलेको नेताहरूले बताएका छन् ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय