उर्लाबारी, ११ पुस
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) उर्लाबारी नगर कार्यसमितिको दोस्रो नगर परिषद भेला सम्पन्न भएको छ । नगर अध्यक्ष सूर्य पौडेलको अध्यक्षता र उर्लाबारी नगरपालिका शिक्षा शाखा प्रमुख, उपसचिव शालिग्राम काफ्लेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
भेलामा प्याव्सन नगर सचिव एलपी राईले प्रगति प्रतिवेदन र कोषाध्यक्ष आनन्द कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । लोकनृत्य प्रतियोगिता, स्पोर्टस मिट, शिक्षक तालिम, स्वास्थ्य शिविर, परोपकारी कार्य अन्तर्गत सहयोग हस्तान्तरण, शैक्षिक गुणस्तरका लागि नगरपालिका लगायत सम्बन्धित क्षेत्रमा डेलिकेशन तथा सहजीकरण पहलकदमी जस्ता कार्यहरु सम्पन्न गरेको सचिव राईको प्रतिवेदनमा उल्लेख छ । शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यार्थीको सर्वाङ्गीण विकासका सम्भावनालाई प्रस्फुटन गर्ने कार्यक्रम आयोजना लगायतका विषयमा प्याव्सनले कार्य गर्दै आएको उहाँले बताउनुभयो ।

कार्यक्रमको अवसरमा लामो समयसम्म शिक्षा क्षेत्रमा योगदान गर्नुभएका शैक्षिक व्यक्तित्व केशव राईलाई नगदसहित सम्मान गरिएको थियो । यस्तै, उर्लाबारी प्याव्सन सदस्य विद्यालयहरुमध्येबाट एसईईमा उत्कृष्ट जिपिए प्राप्त गर्ने सप्तकोशी बोर्डिङ स्कुलका कल्याण राई र आयुषा नेपाल तथा झारसाँदी बोर्डिङ स्कुलका नितेश धिमाललाई पनि नगदसहित सम्मान गरिएको थियो । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि शिक्षा शाखा प्रमुख शालिग्राम काफ्ले, प्याव्सन प्रदेश समिति सहसचिव भुवन श्रेष्ठ, प्याव्सन मोरङका सल्लाहकार सुरेन्द्र सुवेदी, सम्मानित व्यक्तित्व केशव राईले शुभकामना मन्तव्य राख्नुभएको थियो । प्याव्सन नगर सदस्य तारा सुब्बाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन सचिव एलपी राईले गर्नुभएको थियो ।
उर्लाबारी प्याव्सनमा आवद्ध २६ विद्यालयमा ८ हजार ३ सय ८६ विद्यार्थी अध्ययनरत रहेको साथै ५ सय ६८ शिक्षक र २ सय ३३ जना कर्मचारी कार्यरत रहेको नगर प्याव्सनका अध्यक्ष सूर्य पौडेलले बताउनुभयो ।




