उर्लाबारी, ११ पुस
उर्लाबारी नगरपालिकाले १८ जना ज्येष्ठ नागरिकलाई सम्मानसहित फाइबरको सिरक वितरण गरेको छ । पाँचौँ राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा आज नगरपालिकामा आयोजित कार्यक्रममा ९ वटा वडाका २÷२ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो ।
“हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान” भन्ने मूल नाराका साथ उर्लाबारी नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रममा नगर प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मीना खतिवडा पौडेल, निमित्त प्रमुख प्रशासकीय अधिकृत शालिग्राम काफ्लेले ज्येष्ठ नागरिकलाई फाइबरको सिरक वितरण गर्नुभयो ।
नगर प्रमुख गंगाप्रसाद खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जाडोयाममा ज्येष्ठ नागरिकको स्वास्थ्य तथा सुरक्षालाई ध्यानमा राख्दै सहयोग सामग्री वितरण गरिएको हो । कार्यक्रममा नगर प्रमुख खरेलले अग्रजलाई सम्मान गर्ने संस्कारको विकास गर्नुपर्ने बताउनुभयो । आफूले अरूको सम्मान गर्न सकेमा त्यही संस्कार आफूमा लागू हुने भन्दै ज्येष्ठ नागरिकलाई एक दिन मात्रै नभई सधैं सम्मान गर्नुपर्ने उहाँको भनाई थियो ।

वडाले सिफारिस गरेका तर नगरपालिकामा आउन नसकेका ज्येष्ठ नागरिकलाई नगर उपप्रमुख पौडेलसहितको टोलीले घरमै पुगेर सिरक वितरण गरेको छ । यस कार्यले ज्येष्ठ नागरिकप्रति नगरपालिकाको संवेदनशीलता, सम्मान र सामाजिक उत्तरदायित्वलाई थप सशक्त बनाएको नगरपालिका सामाजिक विकास शाखा प्रमुख चन्द्रकला सुब्बाले बताउनुभयो । नगरपालिकाले ज्येष्ठ नागरिकको सम्मान, संरक्षण र जीवनस्तर सुधारलाई प्राथमिकतामा राखी यस्ता कार्यक्रमहरूलाई आगामी दिनमा पनि निरन्तरता दिने उपप्रमुख पौडेलले बताउनुभयो ।




