– ढुण्डुराज भट्टराई
बाल्यकाल फर्केर हेर्न मन लागेको निकै दिन भयो । मस्तिष्कमा थाक लागेर बसेका सम्झनाका तरेलीहरू कसरी खोल्ने भन्ने मेसो नपाएर म अल्मलिएको रहेछु । आमालाई सम्झेँ । सानो छँदा मैले गरेका तर मेरो मानसपटलमा नबसेका थुप्रै घटनाहरू मेरी आमाले भन्नुहुन्थ्यो । टुकुरटुकुरको हिडाइसँगै मैले आमा र दिदीहरूलाई निकै सताउँथेँ रे । कहिले भैँसीको थलामा, कहिले सिँढीको टुप्पोमा, कहिले पानीमा त कहिले हिलो र धुलोमा पुग्थेँ रे । कहिले छिमेकीले डोकाले छोपेका कुखुराका चल्लाहरूलाई निमोठ्थेँ रे । कुकुर, बिरालासँग नडराइ नजिक जान्थेँ रे । बाटोतिर खेल्थेँ रे । एक पटक त बाटोमा खेलिरहेको बेला ट्रकको मुनि परेको थिए रे धन्नले किचेन छ ।
घरमै स्कुल थियोे । जन्तरे लिम्बू भन्ने बुढा मान्छेले पढाउँथे । हामी सबैले बुढो सर भन्थ्यौँ । गुन्द्रीमा र काठको फल्याकमा बसेर पढ्नुपथ्र्याे । केटाकेटीलाई सारै माया गर्ने सर । पढाए बापत चामल, धान आदि पाउँथे उनले । बिस्तारै हुर्कदै गएपछिका घटना भने सम्झनामा आइरहन्छन् । आज जस्तो प्रविधिको समय थिएन । आमाबुबाले गर्ने कामको नक्कल गर्न पाउँदा रमाइलो लाग्ने । खेल्ने ठाउँको सीमितता थिएन । टाढा टाढासम्मका केटाकेटी भेला हुन्थ्यौँ र बेलगाम दौडन्थ्यौँ । दिदीहरूको पछि लागेर घाँस दाउरा र गोठालोमा कुद्थ्यौँ । कक्षा ४ देखि म उर्लाबारी हाटखोलास्थित राधिका स्कुल पढ्न जान थालेँ किनकी हाम्रो टोलमा भएको कक्षा ३ सम्मको स्कुलका सबै विद्यार्थी तथा शिक्षकलाई राधिका स्कुलले लगेको थियोे । बुडो सर अब राधिका पढाउने भएका थिए । घरमा पढ्न मनै नलाग्ने जे जति जानियो विद्यालयको भरमा । होमवर्क पनि खासै गरिदैनथ्यो । बरू सर मिसको कुटाइ खान राजी । बिहानभरी खेल्यो, दिउँसो स्कुल गयो, साँझ घर आएर फेरि खेल्यो, गलेर लखतरान भएपछि घर आयो, खाना खायो त्यसपछि घुप्लुक्क निदायो । दैनिकी यसरी नै बित्थे ।
८–९ वर्षको भएपछि भने दैनिकी फेरियो । विहान भैंसी चराउनु, खानापछि स्कुल जानू र स्कुल पछि सिधा घर । घाँस काट्नु, गाईभैसीलाई पराल माचबाट तान्नु, गोबर सोर्नु जस्ता काम मबाट हुन थाले । यसका बाबजुद छुट्टीका समयमा दिनभर गोठालो जानुपथ्र्याे । कामसँगै हाम्रा खेलकुद र मनोरञ्जनका गतिविधि हुन्थे । गाईबस्तु मावा र नुनसरी बगरमा चराइन्थ्यो । बर्खायाममा ठुलो बाढी आउथ्यो । धमिलो पानी, अग्ला अग्ला छालहरूमा तलमाथि गर्दै टाढासम्म हामी पानीमा तैरदै बग्थ्यौँ । खोलाले डुबाउला, बगाउला भन्ने रत्तिभर डर थिएन । कहिले मावाको पुलमाथिबाट फाल हान्थ्यौ त कहिले भुमरीमा छिरेर पाताल छुन्थ्यौँ । भोक लागे बगरका काँसका लहराबाट चुरा बनाउँथ्यौ हातमा लगाएर चुस्दै हिड्थ्यौँ । तिर्खा लागे खोला किनारमा हातले बालुवा खोतलेर कुवा बनाउथ्यौँ, पानी संग्लिए पछि गाई जस्तै बनेर मुखले पानी तान्थ्यौँ । खोला किनारमा बसेर बालुवाका थोपा थुपार्दै राम्रा राम्रा दरबार बनाउथ्यौँ र आफूलाई त्यही दरबारको राजा ठान्थ्यौँ । एकै छिनमा पानीको झोँकाले दरबारलाई लथालिङ्ग बनाउँथ्यो । नदी किनारका झार जाउडा पन्छाउदै त्यहाँ बसेका माछाहरू समात्थ्यौ । झारको लामो सिल बनाएर माछालाई उन्थ्यौँ । धेरै माछा बोक्ने गोठालाको इज्जत नै अर्कै । कहिलेकाहीँ बिसालु किराहरूले टोक्थे । गँगटा, बिच्छी तथा माछाहरूको पनि डसाई ,घोचाई सहनुपथ्र्याे । बगरमै दाउरा खोज्यो, आगो बाल्यो, माछा पोल्यो र नुन खोर्सानीसँग खायो ।
त्यो बेलाको स्वर्गीय आनन्द खै कहाँ दोहोरियो र । हिउँदमा सबै खेतहरू खालि हुन्थे । गाइबस्तु चरनका लागि खुला हिसाबले टाढा टाढासम्म पुग्थे । हामी गोठालाहरू पालो सिस्टमले टाढा पुगेका बस्तु फर्काउने र एकठाउँ जम्मा गर्ने गथ्र्याैँ । दिनभरि खेलेर समय बित्थ्यो । डन्डी बियो, छुर, चट्टी, कन्डो पिटाइ, चिची गुडिया, ढुड्गा मारी, खोपी, दुला चाली, छेस्को लुकाई, रूमाल लुकाई, छोइ डुम, कबड्डी, लठ्ठी सुँग्ने, आँखा छोपी, आसपास, किट्टो, गुच्चा, खुट्टा नाघी, एक खुट्टे, घेघेरानी, आइज मेरो राजा, चुङ्गी, गुच्चा, ककफाइट, कुटुनी बुढी, भालेपोथी छुट्याउने लगायत दर्जनौ खेलहरू थिए । भुटेका मकै, मुलाको साग, बेलचन्दाको अचार यस्तैले हो दिनको भोक मेटाउने । कहिले ठुलो रूखको हाँगाहाँगामा झुन्डिएर छोइ डुम खेल्थ्यौ । कहिले खोला बाँधमा डुबुल्की लगाउँदै ढुङ्गा लुकाउने र पत्ता लगाउने खेल खेल्थ्यौँ ।
केही केही बदमासी पनि भइरहन्थे । कहिले साथीहरूसँग मिलेर मामफुलीवालाको मामफुली बदाम खासिन्थ्यो त कहिले छिमेकीहरूका बारीमा फलेका फलफूल ल्याएर खाइन्थ्यो । यस्तो बेला बाआमाले थाहा पाउँदा भने सजाय भोग्नुपथ्र्याे । बर्खायाममा हामी सबैका आआफ्ना माछा पकड्ने ढोक्सीहरू हुन्थे । बेलुका खेतमा गएर प्रत्येक आलिका समाहामा ढोक्सी राखिन्थ्यो । बिहान सबेरै गएर माछाले भरिएका ढोक्सी ल्याउन पाउँदा मज्जै बेग्लै । कहिलेकाहीँ सर्प, गंगटा, भ्यागुता लगायतका किराहरू पनि फसेका हुन्थे । धागोमा गड्यौला उनेर लोथ्था बनाइन्थ्यो, फर्सीका पातमा गड्यौला पोका पारेर, पाटाखाडी र होलीतिर लागेपछि लामालामा सिल भरेर माछा ल्याइन्थ्यो । केराको थम्वालाई बाँसको किलाले जोडेर नाउँ बनाइन्थ्यो र दुई तीन जना बसेर मज्जाले पानी माथि यात्रा गथ्र्याैँ । कहिले ग्याटिस बोकेर हिडेको छोरो चराका दुइ चारवटा चरा मारेर साथीहरूका तिर जान्थ्यो । चरा चै लुकिचोरी मात्र खाइयो । बाले सातो लिनुहुन्थ्यो ।
भैँसीको ढाडमा बसेर दिनभर बाटो, पैनी, खोला किनारमा बिताइन्थ्यो । गोठालाहरू जस्तै भैँसीभैँसीलाई साथी बनाइन्थ्यो र सँगसँगै चराइन्थ्यो । कहिले भने जुधेर रक्ताम्य हुन्थे । त्यसको केही दिनसम्म गोठालाको आत्मीय सम्बन्ध नै टुट्ने । हिलोमा भैंसी छाडेर लठ्ठी गाडी खेलिन्थ्यो । गर्मी भयो भने भैंसी खोलामा आहाल खेलायो आफूपनि पौडी खेल्यो खुबै रमाइलो लाग्ने । १२÷१३ बर्षदेखि बाले गर्ने ठुलाठुला काममा सहयोग गर्न थालियो । हलो जोत्न, पटाहा लगाउन, गोबरमल गोरूगाडीबाट खेतमा ओसार्न, पैनीमा पानी फर्काउन खोला जान, खेतका आली तास्ने, लगाउने काम गर्न सक्ने भइयो । अर्मपर्ममा पनि गइन्थ्यो । गोरूगाडी लिएर बुवाका साथमा जंगल गएर ठुला टुनाहरू ल्याइन्थ्यो । सखुवा, बोट धमेरो, करम, राजबिर्षे, असारे आदिका दाउरा मुडा हाम्रा रोजाइका हुन्थे । गाउँभरीका गाडीहरू लस्कर लागेर हिड्दा ¥याली जस्तै लाग्ने । हामी सानाहरू गाडीको बलमान बन्थ्यौ र जंगलमा पुगेपछि गोरूलाई पराल हाल्ने र गाडी रूङ्ने काममा हुन्थ्यौ । कहिले बाँदर ढेडुले सातो लिन्थे । कहिले बनजाँचेले पक्डेर हैरान पार्थे । गाडीका सबै दाउरा पोखेर रित्तै फर्किनुपर्ने ।
गाउँ नजिकै इटाभट्टा थियो । जंगलको दाउरा ल्याएर भट्टामा बेचिन्थ्यो । बाले यस्तो बेला हामीलाई पनि पैसा दिने । त्यो बेला सिनेमा हेर्न खुव रहर लाग्ने । तर पैसा कहिल्यै नहुने । बाले दिएका पैसा सिनेमामा खर्चिन्थ्यौ । ब्यक्तिगत पैसाको लागि समय अनुसार कहिले पाटा, कहिले धान, कहिले मकै सिला खोजिन्थ्यो । मुसाले लगेको धान निकाल्दा मुसाको टोकाइ पनि खाइन्थ्यो । सिनेमा हेरेर कहानी सुनाउन पाउँदा आफूलाई हिरो ठानिन्थ्यो । वरिपरिका साथीहरू बसेर मन्त्रमुग्ध सुन्थे म अभिनयसहित बेलिबिस्तार लगाउँथे र उनीहरूलाई हेर्न बाध्य पार्थे । पैसा भएको बेला न हो आफ्नो रहर पूरा गर्ने । मोचाको बल खेल्दाखेल्दा हैरान भएका हामीलाई छालाको बल खेल्ने रहर जाग्थ्यो पैसा उठाएर किन्थ्यौँ । फुटिगयो भने मोचीकोमा सिलायो नयाँ ब्लाडर फेर्याे अनि त्यही बल खेल्यो । खुट्टामा जुत्ता हुदैनथ्यो । मुस्किलले पछि मैले फुटबल खेल्दा लगाउने त्योबेला चलेका ७ काँटे जुत्ता लगाएँ । खोला बगर, बाटाको नाला हाम्रो खेल मैदान हुन्थ्यो । वरपरका गाउँका सँग फुटबल खेल बाजीमा खेलिन्थ्यो । झुम्राहा, डिपु, गोलाटार, बाँध आदि टिमसँग भिडन्त भइरहन्थ्यो । कहिलेकाहिँ झगडा पनि पथ्र्याे ।
स्कुलमा पनि त्यस्तै हो साथीहरूको गुटबन्दी हुन्थ्यो । एक्लै भेट्दा दुस्मनको गाली कुटाइ खानुपर्ने । मेरा केही बलिया साथीहरू संरक्षक थिए । उनीहरू स्कुलबाट भागिरहन्थे । किताब सरहरूबाट बचाउने जिम्मा मलाई दिन्थे । कसैले पोल लगाए भने मैले पनि सरको पिटाइ खानुपथ्र्याे । कहिलेकाहीँ स्कुल बाहिर ग्याङ फाइट हुन्थ्यो । यो सब सिनेमाको प्रभाव थियोे ।
टिफिन समयमा खाजा हुदैनथ्यो । पानी पियो खेल्यो । कहिलेकाहीँ पैसा हँुदा बखत भने साथीहरूसँग मिलेर केही खाइन्थ्यो । खाजामा सिजन अनुसारका मेल, सतिबयर, भकिअमिलो, अम्बक जस्ता फलफूल आलुचप, चटपटे, बिस्कुट, मिठाइ आदि पाइन्थ्यो । स्कुलमा खेलकुद कार्यक्रम हुन्थे । हाइजम्प, लङजम्प, दौड, जिम्न्यास्टिक, कराँते, भलिबल लगायतका खेलहरूको प्रतियोगिता हुन्थे । राजारानीका जन्मोत्सवमा ¥याली हुन्थ्यो । कहिलेकाहीँ जादुगर आएर स्कुलमा देखाउँथे । यी समय हाम्रा लागि प्यारा बन्थे । पूर्वव्यवसायिक अन्तर्गत स्कुलमा आलु रोपिन्थ्यो, खनिन्थ्यो, गहुँ, धान रोप्ने काट्ने गरिन्थ्यो । यस्ता काम हाम्रा लागि सामान्य लाग्थे । चाडबाडको छुट्टीमा नाटकहरू गाउँमा मञ्चन गरिन्थ्यो । गाउँका कलाकार गाउँकै दर्शक । भेला भयो योजना बनायो सोही बमोजिम काम गर्याे ।
नागपञ्चमीदेखि चाडपर्व सुरु हुने । हामी जंगल जान्थ्यौँ, कुसुम, अँगेरी, दत्रुङ्गो, असारे, राजविर्सेको टाटा आदि खान्थ्यौँ, जम्मा गथ्र्यौँ । कुनकुन लहरा काटेर पानी खान्थ्यौँ । कहिले निगुरो, डौँठे, जिब्री साग, सखुवाको पात आदि ल्याउथ्यौँ । कहिले कोदाला बन्चराको बिँड, लठ्ठी आदि त कहिले रातो माटो, कमेरो माटो, कालो माटो पनि । खमार बनाउने, घर आँगन लिप्ने आदि कार्यमा पनि अर्मपर्म चल्थ्यो । धान काट्ने उठाउने, कुन्यु लगाउने, झाँट्ने, बत्ताउने, थन्क्याउने, परालको माच राख्नेसम्म सहकार्य हुन्थ्यो । सबैका खमारमा परालको गोठ बन्थे, साथीहरूसँग मिलेर रातिसम्म आसपास खेलिन्थ्यो र लखतरान भएपछि गोठमै सुतिन्थ्यो । सबैमा आत्मियता थियो । एउटालाई पिडा हुँदा अर्कोलाई दुख्थ्यो । सबैले सबैलाई मनै देखि माया गर्थे । प्रायः घरहरू काठका खावा गाडेर बनाइएका हुन्थे । टाँडे घर भएकाले मुनिपट्टि गाइबस्तुको गोठ र माथि मान्छे बस्ने प्रचलन थियो । घरहरू खुल्ला हुन्थे कसैकोमा कम्पाउण्ड वाल हुदैनथ्यो । घर अगाडि ठुलो आँगन हुन्थ्यो जसलाई लिपपोत गरेर चिटिक्क पारिएको हुन्थ्यो । कसैलाई आवागमनमा बाधा हुदैनथ्यो । ढोकाहरू रातमा बाहेक खुल्ला रहन्थे । खाना बन्दैछ भन्ने खबर घरबाट बाहिर निस्केको धुवाँले दिन्थ्यो । अलि हुनेको घरमा रेडियो हुन्थ्यो । रेडियोमा बज्ने गीति कथा र नाटकहरू हामी केटाकेटी भेला भएर सुन्थ्यौ । घटना र बिचार, समाचारहरू बाआमाहरू सुन्नुहुन्थ्यो ।
दशैमा पिङ र तिहारमा देउसी भैलो खेल्दा निकै रमाइलो हुन्थ्यो । समय समयमा मेला लाग्थ्यो । मेलामा लक्की सेभेन, डाइस, लङ्गुरबुर्जा, खिरखिरे आदि खेलहरू हुन्थे । धेरै कमाउने लोभले खेलिन्थ्यो, हार हुँदा न्याउरो मुख लगायो, भोको पेट दिनभरी यताउता भौतारियो र घर फर्कियो । जीत भयो भने पैसा गोजिभरी बनाएर सिंगडा, जुलपी खायो । रोटेपिङ, मौतका कुवा, इन्द्रजाल सरकस, डान्स तथा नौटङ्की जस्ता पैसा तिरेर हेर्ने खेलतमासा हेर्याे । घरको याद राति मेला बन्द भएपछि मात्र आउँथ्यो । साथीहरूसँग कहिलेकाहीँ रातिको सोमा हाफटाइममा छिरेर पैसा नतिरी सूर्य टाकिज र दुर्गा टाकिजमा सिनेमा हेरिन्थ्यो ।
अहिलेका केटाकेटीको तुलनामा त्यो बेलाको हाम्रो बाल्यकाल धेरै कष्टकर थियो । तर पनि ती भोगाइ सम्झदैँ लेखिरहदा भने मलाई आनन्द लागिरहेको छ । त्यो समय बिताउन पाएकोमा मलाई गर्व छ । छोराछोरीलाई यी सब भोगाइ सुनाउँदा बनावटी कथा झैँ ठान्छन् । भोलि उनीहरूले पछिल्लो पुस्तालाई सुनाउने उनीहरूका भोगाइहरू पनि यस्तै अपत्यारिला बन्लान् त ?


२०८२–०९–०४
उर्लाबारी, मोरङ


