उर्लाबारी, ५ मंसिर
कोशी प्रदेशकै उत्कृष्ट सामुदायिक विद्यालय राधिका माध्यमिक विद्यालय उर्लाबारी–६ ले विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम सम्पन्न गरेको छ । आज विद्यालयमा एक भव्य कार्यक्रमको आयोजना गरी कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई विदाइ र कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत गरिएको प्रधानाध्यापक कुमार पोख्रेलले बताउनुभयो ।
कक्षा ११ मा अध्ययनरत छात्र÷छात्राहरुद्वारा स्वागत सम्मान गर्दै सुरु गरिएको उक्त कार्यक्रमको समुदघाटन विद्यालय व्यवस्थापन समिति अध्यक्ष लोलिम पोमू लिम्बूले गर्नुभएको थियो । कक्षा १२ मा अध्ययनरत छात्र किस्मत बाँस्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा सोही कक्षाकी छात्रा विनिता दंगालले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन प्रशान्त सापकोटाले गर्नुभएको थियो । कार्यक्रममा कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई मायाको चिनो प्रदान गरी विदाई गरिएको छ ।

विद्यालयका प्रधानाध्यापक कुमार पोख्रेलले विद्यार्थीको उज्ज्वल भविष्यको कामना गर्दै राधिका माध्यमिक विद्यालयको नाम गौरव फैलाउन सफल भएकोमा सम्पूर्ण विद्यार्थीलाई बधाइ र शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा शिक्षक महासंघ उर्लाबारी नगर अध्यक्ष मणिराज दाहाल, राधिका मावि उर्लाबारी–७ का प्रअ सुवासचन्द्र सापकोटा, विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।




