विराटनगर, १८ असोज
पाँचथरको कुम्मायक कार्तिकेस्थित तमोर करिडोरमा भएको बोलेरो दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । ताप्लेजुङबाट यात्रु लिएर धरान आउँदै गरेको बोलेरो गाडी भिरमा खस्दा ६ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा तीन महिला र तीन पुरूष रहेका छन् ।
मे १ ज ३०५५ नम्बरको बोलेरो गाडी शनिवार दिउँसो सडक छेउबाट खस्दा थप ६ जना घाइते भएका छन् । घाइते मध्ये ५ जनालाई उपचारका लागि धरान ल्याइँदै छ । एक जनालाई फिदिम अस्पताल लगिएको छ । मृतकहरूको पहिचान भने अहिलेसम्म खुलेको छैन । दुर्घटनाको कारण खुल्न बाँकी भए पनि प्रारम्भिक अनुसन्धानअनुसार सडक साँघुरो र ओरालो भागमा नियन्त्रण गुम्दा गाडी खसेको अनुमान गरिएको छ ।





