उर्लाबारी, २ असोज
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको उर्लाबारी नगरपालिकाको पुनर्निर्माणमा उर्लाबारीका निर्माण व्यवसायीले करिब ६ लाख रुपैयाँ बराबरको सहयोग गरेका छन् ।
व्यवसायीहरुले तत्काल आवश्यक पर्ने वाइरिङ सामग्री, तार तथा नेटवर्कका सामग्री खरिद गरी नगरपालिकालाई उपलब्ध गराएका हुन् । सो क्रममा ५ लाख ९४ हजार रुपैयाँ बराबरको विद्युतीय सामग्री हस्तान्तरण गरिएको छ ।
सहयोग उपलब्ध गराउनेहरुमा अर्जुन तुम्रोकले १ लाख ५१ हजार, हेम थापाले १ लाख, सचिन शाक्यले ५८ हजार, यज्ञ भट्टराईले ५५ हजार, विकास बुढाथोकीले ५१ हजार, डिल्ली दाहाल, माधव घिमिरे, भीम भट्टराई र रामकुमार राईले जनही ३१–३१ हजार, रविन भण्डारीले २५ हजार, डिल्ली खतिवडाले २१ हजार र भीम थापाले ५ हजार रुपैयाँ बराबरको सहयोग गरेका छन् ।
उक्त सामग्रीहरु आज व्यवसायीहरुले नगर प्रमुख गंगाप्रसाद खरेल र प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्तालाई हस्तान्तरण गरेका हुन् । नगर प्रमुख खरेलले संकटको घडीमा गरेको सहयोगले पुनर्निर्माण कार्यलाई टेवा पुग्ने विश्वास व्यक्त गर्दै व्यवसायीप्रति आभार व्यक्त गर्नुभयो ।




