उर्लाबारी, ३० भदौ
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते उर्लाबारी नगरपालिका र मातहतका कार्यालयमा ७ करोड १८ लाख ४३ हजार रुपैयाँ बराबरको क्षति भएको छ । नगर कार्यपालिका कार्यालय र ९ वटै वडा कार्यालयमा भएको आगजानीको मुचुल्का तयार पार्दा उक्त रकम बराबरको क्षति भएको प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्ताले जानकारी दिनुभयो ।
आज नगरपालिकाले आयोजना गरेको सर्वदलीय, सर्वपक्षीय छलफलमा प्रमुख प्रशासकीय अधिकृत गुप्ताले क्षतिको विवरण जानकारी गराउनुभएको हो । उहाँका अनुसार नगर कार्यपालिकाको कार्यालयमा नगर प्रमुखको कार्यकक्ष क्षति हुनुका साथै जिन्सी, योजना, पुर्वाधार, सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा, महिला बालबालिका शाखा पूर्ण रुपमा क्षति भएको छ । ती शाखाका सबै अभिलेख नष्ट भएको छ । साथै, ९ वटै वडा कार्यालयमा आगजनीबाट क्षति भएको छ । यस्तै, जिन्सी सामग्री धेरै तोडफोड र लुटपाट भएको उहाँले बताउनुभयो । मोटरसाइकल ९ वटा, स्कुटर १ वटा, ४ वटा गाडीमा आगजनी भएको छ ।
नगर प्रमुख गंगाप्रसाद खरेलको अध्यक्षतामा भएको बैठकमा प्रप्रअ गुप्ताले कार्यालयको स्वास्थ्य, शिक्षा शाखाका कार्य सुचारु भइसकेको र यसैसाताभित्र सबै शाखाबाट सेवा सुरु गर्ने बताउनुभयो । वडा कार्यालयहरु पनि सञ्चालनको तयारी गरिएको उहाँले बताउनुभयो । वडा कार्यालय सञ्चालनका लागि टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर, दराजलगायतका सामग्री, रंगरोगन, विजुली र इन्टरनेटका तार र पंखा आवश्यक रहेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको पुनर्निर्माणमा नगरपालिकाले सबै सरोकारवालालाई सहयोगको अपील गरेको छ । बैठकका नगर प्रमुख खरेलले आफ्नो छ महिना बराबरको सेवा सुविधा बराबरको रकम प्रदान गर्ने बताउनुभयो । यस्तै, व्यवसायी अर्जुन तुम्रोकले एक लाख ५१ हजार, व्यवसायी चन्द्रबहादुर भट्टराई भरतले एक लाख पाँच हजार रुपैयाँसहित नगरपालिकाले गर्ने कार्यक्रमका लागि एक वर्षसम्म सभाहल निःशुल्क उपलब्ध गराउने घोषणा गर्नुभयो ।
व्यवसायी सचिन शाक्यले ५० हजार नगदसहित एक महिनासम्म आफू चढ्ने गाडी उर्लाबारी नगरपालिकालाई प्रदान गर्ने, वडा कार्यालयहरुको पुननिर्माणका लागि आवश्यक पर्ने निर्माण सामग्री, निर्माणका लागि डोजर, स्काभेटर र टिपर प्रदान गर्ने बताउनुभयो । यस्तै, अर्का व्यवसायी हेम थापाले १ लाख, विकास बुढाथोकीले ५१ हजार, निरोज तिम्सिनाले ६५ हजार मूल्य बराबरको गृलका सामग्री प्रदान गर्ने बताउनुभयो ।
यस्तै, स्वास्थ्यकर्मी बालचन्द्र सुब्बाले दुई थान कम्प्युटर र एक थान प्रिन्टर सहयोग गर्ने बताउनुभयो । अन्य व्यक्तित्वहरुले पनि सहयोगको घोषणा गरेका छन् ।




