रतुवामाई, १७ भदौ
कृषकको हितमा काम गर्दै आएको रतुवामाई नगरपालिकाले किसानहरुको सिंचाई मिटरको विद्युत महसुल तिरिदिने भएको छ । विगतदेखि सञ्चालन हुँदै आएको यो कार्यक्रम नगरपालिकाले चालु आर्थिक वर्ष २०८२।०८३ मा पनि निरन्तरता दिएको हो ।
नगरपालिकाले एक सूचना प्रकाशित गरी १५ दिनभित्र कृषकहरुले कृषि विकास शाखा तथा कृषि सेवा केन्द्रहरुमा गएर नयाँ दर्ता तथा पुरानो दर्ता नवीकरण गर्नुपर्ने उल्लेख गरेको छ । रतुवामाईले केही वर्षदेखि किसानहरुको सिंचाई मिटरको विद्युत महसुल तिर्ने गरेको छ । सोही योजनालाई निरन्तरता दिएको प्रमुख प्रशासकीय अधिकृत डम्मरु बल्लभ बरालले जानकारी दिनुभयो । सूचना अनुसार नगरपालिकाले अधिकतम ६ हजार रुपैयाँसम्म विद्युत महसुल भुक्तानी गर्नेछ । त्योभन्दा बढी विद्युत महसुल उठेमा कृषक स्वयमले तिुर्नपर्नेछ ।
नयाँ दर्ता गर्नका लागि असार मसान्तसम्मको विद्युत महसुल तिरेको प्रमाणित रसिद, वडाको सिफारिस, जग्गाको धनीपूर्जाको प्रतिलिपि, मालपोत तिरेको रसिद र नागरिकताको प्रतिलिपि आवश्यक पर्ने सूचनामा जनाइएको छ । यस्तै पुरानो नवीकरणको हकमा अघिल्लो वर्ष मालपोत तिरेको रसिद र नागरिकताको प्रतिलिपि आवश्यक पर्ने जनाइएको छ ।




