नवराज भट्टराई
उर्लाबारी, ६ भदौ
मोरङमा रहेका १७ वटा स्थानीय तहहरूमध्ये स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा विराटनगर महानगरपालिका प्रथम भएको छ भने उर्लाबारी नगरपालिका दोस्रो भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८०।०८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा विराटनगर महानगरपालिकाले ८७.२५ अंक प्राप्त गरी प्रथम भएको हो । उर्लाबारी नगरपालिका ८५.५० अंक प्राप्त गर्दै जिल्लामा दोस्रो भएको छ ।
यस्तै, सुन्दरहरैँचा नगरपालिकाले ८४.५०, पथरीशनिश्चरे नगरपालिकाले ८०, लेटाङ नगरपालिकाले ८०.७५, रंगेली नगरपालिकाले ८०.७५, रतुवामाई नगरपालिकाले ७५.२५, बेलबारी नगरपालिकाले ७२.२५ र सुनवर्षी नगरपालिकाले ६५.५० अंक प्राप्त गरेका छन् । गाउँपालिकातर्फ कटहरीले ८२.७५, मिक्लाजुङले ८१.७५, ग्रामथानले ७५.२५, धनपालथानले ७३.७५, कानेपोखरीले ७१.५०, केराबारीले ७०, जहदाले ६१, बुढीगंगाले ५७.२५ नम्बर पाएका छन् ।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ ले स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कनका लागि विभिन्न विषयक्षेत्रहरु निर्धारण गरेको छ । शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजनामा व्यवस्थापन, वित्तीय र आर्थिक व्यवस्थापन, सेवा प्रवाह, सहकार्य र समन्वय, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण र वातावरण संरक्षण तथा विपद् व्यवस्थापनन गरी १० शीर्षकमा स्थानीय तहको स्वमूल्याङ्कन हुने गरेको छ ।




