उर्लाबारी, ३० साउन
सुनगाभा बोर्डिङ स्कुल उर्लाबारी–५ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरिएको छ । आज कक्षा १२ का विद्यार्थीले एक भव्य कार्यक्रमको आयोजना गरी नयाँ विद्यार्थीलाई स्वागत गरेका हुन् ।
उर्लाबारी–४ स्थित जय वशिष्ठ रिसोर्टमा आयोजित भव्य कार्यक्रममा विद्यार्थी स्वागतका साथै विविध साङ्गीतिक कार्यक्रम गरिएको थियो । कक्षा १२ का विद्यार्थी विपिन खड्काको अध्यक्षता र स्कुलका संस्थापक÷प्रिन्सिपल भुवन श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कक्षा ११ को विज्ञान र व्यवस्थापन संकायमा भर्ना भएका विद्यार्थीलाई खादा लगाएर स्वागत गरिएको थियो ।

विद्यालयले व्यवस्थापन गरेको कार्यक्रममा विद्यार्थीहरुले गायन, नृत्य लगायत कला प्रस्तुत गरेर भरपुर मनोरञ्जन दिलाएका थिए । सो अवसरमा प्रिन्सिपल श्रेष्ठले एसईई पछिको अध्ययनका लागि सुनगाभालाई रोजेर आउने विद्यार्थीलाई स्वागत गर्दै समय सापेक्ष शिक्षा प्रदान गर्न आफूहरु तत्पर रहेको बताउनुभयो । विद्यालयका भाइस प्रिन्सिपल केशव घिमिरेले सुनगाभाले गुणस्तरीय शिक्षा प्रदान गर्दै उत्कृष्ट नतिजा प्राप्त गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा कक्षा १२ की छात्रा रोशिना खतिवडाले स्वागत मन्तव्य राखेकी थिइन् भने आदर्श कार्की र युगला भण्डारीले कार्यक्रम सञ्चालन गरेका थिए । कक्षा नर्सरीदेखि १२ सम्म पठनपाउन हुँदै आएको यो विद्यालयमा ७ सयभन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् ।




