उर्लाबारी, २९ साउन
विद्यालय शिक्षा विधेयकका केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै निजी विद्यालय सञ्चालकहरू आन्दोलित बनेका छन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट प्रस्तावित विद्यालय शिक्षा विधेयकमा निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउने, पूर्ण छात्रवृत्ति दिने शब्दावली राख्ने, छात्रवृत्तिको दायरा विस्तार गर्ने लगायतका प्रावधान आफूहरूको हितविपरीत भएको भन्दै उनीहरूले विरोध जनाएका हुन् ।
प्याव्सनको आन्दोलनको कार्यक्रम अन्तर्गत आज पालिका प्रमुखलाई ज्ञापनपत्र बुझाइएको छ । यसैक्रममा उर्लाबारी नगरपालिकामा पनि निजी विद्यालय सञ्चालकहरुले नगर प्रमुख गंगाप्रसाद खरेललाई ज्ञापनपत्र बुझाएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) उर्लाबारी नगर समितिका अध्यक्ष सूर्य पौडेलले उक्त ज्ञापनपत्र नगर प्रमुखलाई प्रदान गर्नुभयो ।
सो अवसरमा प्याब्सन कोशी प्रदेश समितिका सदस्य दिनेश पोख्रेलले निजी विद्यालय सञ्चालकहरु आन्दोलित हुनु पर्ने कारणका बारेमा जानकारी गराउँदै विद्येयकमा आफूहरूको माग समावेश गर्न अनुरोध गरिएको जानकारी गराउनुभयो । सरकारले विद्यालय शिक्षा विधेयकका चार बुँदा संशोधन नगरे आन्दोलनको स्वरूप क्रमशः कडा बनाउनु प्याव्सनले जनाएको छ । ती चार मागमा ‘निजी विद्यालयहरुलाई क्रमशः गैरनाफामूलक बनाइनेछ’ भन्ने वाक्यांश हटाउनुपर्ने, ‘पूर्ण छात्रवृत्ति’ भन्ने शब्द हटाउनुपर्ने, हालको जम्मा विद्यार्थी संख्याको १० प्रतिशत छात्रवृत्ति दिने प्रावधानलाई निरन्तरता दिनुपर्ने र छात्रवृत्तिमा भर्ना शुल्क, वार्षिक शुल्क तथा मासिक पढाइ शुल्क समावेश गर्नुपर्ने व्यवस्था राख्नुपर्ने रहेका छन् ।
प्याब्सनले साउन २९ देखि भदौ ७ गतेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । साउन २९ गते पालिकामा ज्ञापनपत्र बुझाउने, साउन ३० गते बिहान ११ बजे जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय एकाइ र जिल्ला समन्वय समितिमा ज्ञापनपत्र बुझाउने, भदौ १ गते प्रदेशमा मुख्यमन्त्री र सामाजिक विकास मन्त्रालयलाई ज्ञापनपत्र बुझाउने, भदौ २ गते आ–आफ्नो निर्वाचन क्षेत्रका संघीय सांसदहरूलाई ज्ञापनपत्र बुझाउने, भदौ ३ गते हरेक पालिकामा पालिकास्तरीय आन्दोलन तयारी बैठक बस्ने, भदौ ४ गते प्रत्येक जिल्लामा जिल्लास्तरीय आन्दोलन तयारी बैठक बस्ने, भदौ ५ गते सातै प्रदेशमा प्रदेशस्तरीय आन्दोलन तयारी बैठक बस्ने, भदौ ६ र ७ गते केन्द्र तथा प्रदेशस्तरमा सरोकारवालासँग अन्तरक्रिया सञ्चालन गरिने रहेका छन् । यस क्रममा तोकिएको समय सीमाभित्र सहमति नभए आन्दोलनलाई विद्यालय बन्दसम्म विस्तार गरिने आन्दोलनका कार्यक्रम रहेको प्याव्सन नगर अध्यक्ष सूर्य पौडेलले बताउनुभयो ।
नगर प्रमुखलाई ज्ञापनपत्र बुझाउने कार्यक्रममा प्याब्सन कोशी प्रदेश सहसचिव भूवन श्रेष्ठ, प्रदेश सदस्य दिनेश पोख्रेल, प्याव्सन मोरङका सल्लाहकार सुरेन्द्र सुवेदी, नगर अध्यक्ष सूर्य पौडेल, सचिव एलपी राई, कोषाध्यक्ष आनन्द कार्की, निजी विद्यालय सञ्चालकहरु अमर काफ्ले, लेखनाथ खड्का, मात्रिकाप्रसाद खतिवडा, अजित भट्टराई, ढुण्डुराज भट्टराईलगायतको सहभागिता रहेको थियो । सो अवसरमा नगरका शिक्षा शाखा प्रमुख उपसचिव शालिग्राम काफ्लेको पनि उपस्थिति रहेको थियो ।




