उर्लाबारी, २४ साउन
उर्लाबारी–६ स्थित सूर्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५ औं चुनावी कार्यक्रम आगामी भदौ १४ गते हुने भएको छ । ३ हजार ५ सय ३९ शेयर सदस्य रहेको यो सहकारीले नयाँ कार्यसमिति चयन गर्दैछ ।
यस पटकको निर्वाचनमा अध्यक्ष पदको लागि अनुभवी तथा लामो समयदेखि सहकारी अभियानमा सक्रिय गोपालप्रसाद भट्टराई उचित पात्रको रुपमा देखिनुभएको छ । भट्टराईले अघिल्ला तीन कार्यकालसम्म सचिवको जिम्मेवारी कुशलतापूर्वक सम्हाल्दै संस्थाको नीति, नियम तथा सञ्चालन प्रणालीलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान दिनुभएको छ ।
सदस्यबाट कार्यसमितिमा प्रवेश गरी सचिव पदसम्म रहँदा उहाँले संस्थाको दीर्घकालीन योजना, सदस्य विस्तार र वित्तीय पारदर्शितामा सक्रिय भूमिका निर्वाह गर्नुभएको छ । दुई कार्यकालसम्म अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएका वर्तमान अध्यक्ष तेजनाथ घिमिरेको कार्यकालमा सहकारीले उल्लेखनीय प्रगति गरेको भट्टराईको मूल्याङ्कन छ । संस्थालाई गतिशील बनाउन अध्यक्ष घिमिरेको भूमिका सराहनीय रहेको र त्यसैको निरन्तरता दिन भट्टराई अघि सर्नुपर्ने शेयर सदस्यहरु बताउँछन् ।
सहकारीसँगै शैक्षिक, सामाजिक र धार्मिक क्षेत्रमा समेत लामो समयको योगदानका लागि परिचित भट्टराईले सेवानिवृत्त जीवनलाई केवल विश्राममा होइन, समाजसेवामा समर्पित गर्ने उद्देश्य राख्नुभएको छ । सामाजिक सेवामा अग्रसर रहँदै सहकारीलाई अझ मजबुत बनाउन, सदस्यको विश्वास जित्न र संस्थालाई यस क्षेत्रकै उत्कृष्ट सहकारीको सूचीमा पु¥याउन उहाँको योगदान रहन सक्ने अपेक्षा गरिएको छ ।
उर्लाबारी–५ निवासी भट्टराई हाल तरुण डिवी टोल विकास संस्थाका अध्यक्ष, उर्लाबारी बहुमुखी क्याम्पसका सल्लाहकार, मदन भण्डारी स्मृति प्रतिष्ठानका पूर्व कार्यसमिति सदस्य, शारदा माध्यमिक विद्यालय उर्लाबारी–१ का पूर्व शिक्षक तथा सोही विद्यालयको पूर्व विद्यार्थी मञ्चका अध्यक्ष र अक्षयकोषदाता रहनुभएको छ । विभिन्न सामाजिक संस्थासँगको संलग्नता र नेतृत्वको अनुभवका आधारमा उहाँले सहकारीको आर्थिक सुदृढीकरण, सदस्यहित र समुदाय विकासका क्षेत्रमा विशेष पहल गर्न सक्ने शेयर सदस्यहरुले विश्वास गरेका छन् ।




