पथरी, २३ साउन
कक्षा १२ को परीक्षामा नेपाल प्रथम भएका आफ्ना दुई विद्यार्थीलाई पथरीशनिश्चरे–२ स्थित रेडस्टार अंग्रेजी आवासीय माविले पुरस्कृत गरेको छ । केही दिनअघि प्रकाशित नतिजामा रेडस्टारका चन्दन साह र प्रवीण कट्टेलले समान ३.९६ जिपिए ल्याएर नेपाल प्रथम भएका थिए । कक्षा १२ को यस पटकको नतिजामा ३.९६ भन्दा बढी जिपिए कुनै पनि विद्यार्थीले प्राप्त गरेका छैनन् ।
विद्यालयले आज एक कार्यक्रमको आयोजना गरी साह र कट्टेललाई जनही नगद ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि पथरीशनिश्चरे नगर प्रमुख मोहनप्रसाद तुम्बापोले उक्त पुरस्कार प्रदान गर्नुभयो । यसैगरी समान ३.९२ जीपीए प्राप्त गर्ने मनिषा पोखरेल र प्रमिस रिजाललाई जनही २० हजारको दरले पुरस्कृत गरिएको रेडस्टार आवासीय माविका प्रिन्सिपल टीएन तिम्सिनाले जानकारी दिनुभयो ।
सो अवसरमा नगर प्रमुख तुम्बापोले विद्यालय र विद्यार्थीहरुको मेहनतले नगरकै गौरव बढाएको बताउनुभयो । विद्यालयका प्रिन्सिपल तिम्सिनाले उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीलाई बधाई ज्ञापन गर्दै यस प्रकारको नतिजा हासिल गर्न सहयोग गर्ने शिक्षक, कर्मचारी, अभिभावकलगायत सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
३.९६ जीपीए ल्याउने विद्यार्थी चन्दन साहले यो सफलता आफ्नो मेहनत मात्र नभएर रेडस्टार विद्यालय, अभिभावक त्रिपक्षीय भूमिका रहेको बताउनुभयो । यस्तै, अर्का विद्यार्थी प्रवीण कट्टेलले रेडस्टार शैक्षिक हबको रुपमा स्थापित भएको भन्दै एउटा उदाहरण आफूनै भएको बताउनुभयो ।




