About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ३२ असार
उर्लाबारी नगरपालिकाले तीन वटा वडालाई बालमैत्री वडा घोषणा गर्ने तयारी अन्तिम चरणमा पु¥याएको छ । नगरका वडा नं. २, ७ र ८ लाई बालमैत्री घोषणा गर्न अनुगमन तथा मूल्याङ्कन कार्य तीब्र पारिएको छ । नगरका वडा नम्बर १ र ६ गत वर्ष बालमैत्री वडा घोषणा भइसकेका छन् भने यस वर्ष तीन वडालाई बालमैत्री घोषणा गर्ने तयारी गरिएको हो ।
नगर बाल अधिकार समिति संयोजकसमेत रहनु भएकी उपमेयर मीना खतिवडा पौडेलको नेतृत्वमा अनुगमन गरिएको छ । उपमेयर पौडेलका अनुसार बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिकाले तोकेको ५१ वटा सूचकहरू पूरा भए–नभएको मूल्याङ्कन गर्न टोली परिचालन गरिएको हो ।
बालमैत्री वडा घोषणा गर्नका लागि बालबालिकाको क्षेत्रमा बजेट विनियोजन, शतप्रतिशत बालबालिका विद्यालय भर्ना, छात्रछात्रामैत्री शौचालयको व्यवस्था, सबै बालबालिकालाई पूर्ण खोप, सबै घरमा शौचालयको पहुँच, बालबालिकाको जन्मदर्ता जस्ता न्यूनतम मापदण्डहरू पूरा गर्नु अनिवार्य हुन्छ । उक्त मापदण्ड अनुसार कार्यान्वयन भए÷नभएको अवलोकन गर्न टोलीले वडाभित्रका विद्यालय, स्वास्थ्य संस्था, बाल विकास केन्द्रलगायतका क्षेत्रहरूको स्थलगत निरीक्षण गरेको हो ।
नगरपालिकाकी सामाजिक विकास अधिकृत चन्द्रकला सुब्बाले बालमैत्री घोषणाको लागि वडाहरूले आवश्यक तयारी लगभग पूरा गरिसकेको जानकारी दिनुभयो । अनुगमन टोलीमा महिला तथा बालबालिका शाखा, शिक्षा शाखाका प्रतिनिधिहरू, वडाका जनप्रतिनिधि र सहजकर्ता कमला राउत समेत सहभागी थिए ।
वडा नम्बर ७ की वडाध्यक्ष उर्मिला थापाका अनुसार, ५१ वटा सूचकहरूमध्ये ८० प्रतिशतभन्दा बढी सूचक पूरा गरिसकिएको छ । उहाँले भन्नुभयो, “वडाले बालबालिकाको अधिकारलाई स्थानीय नीति, नियम, कार्यक्रम र बजेटमा प्राथमिकताका साथ समेट्दै बालमैत्री वडा निर्माणमा निरन्तर लागिपरेको छ ।’ उपमेयर पौडेलले बालबालिका भविष्यको आधार भएको बताउँदै भन्नुभयो, “सभ्य, सुसंस्कृत र जिम्मेवार समाज निर्माण गर्न अहिलेको पुस्ताको समुचित विकास आवश्यक छ । त्यसैले सम्पूर्ण बालबालिकाको चौतर्फी विकासमा स्थानीय सरकार प्रतिबद्ध छ ।’
बालमैत्री वडा घोषणाका लागि अब सम्बन्धित प्रतिवेदन तथा प्रमाणहरू संकलन गरेर अन्तिम निर्णय प्रक्रिया अघि बढाइने तयारी भएको जनाइएको छ । उर्लाबारीलाई आगामी वर्षसम्ममा बालमैत्री नगर घोषणा गर्ने तयारी रहेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय