उर्लाबारी, २७ असार
उर्लाबारी नगरपालिकाले पत्रकार र कर्मचारीलाई पुरस्कृत तथा सम्मानित गरेको छ । नगरपालिकाको १४ औं नगरसभाको तेस्रो बैठकका अवसरमा आज उत्कृष्ट सञ्चार माध्यम पूर्वज्योति साप्ताहिक, सक्रिय पत्रकारिता पुरस्कार हरिप्रसाद कोइराला र अग्रज पत्रकार सम्मान ललिता भट्टराईलाई प्रदान गरिएको छ । पूर्वज्योति साप्ताहिकका तर्फबाट सम्पादक÷प्रकाशक जगन्नाथ भट्टराईले पुरस्कार ग्रहण गर्नुभयो ।
यस्तै, नगरपालिकाले राजश्व शाखालाई उत्कृष्ट शाखाको रुपमा सम्मान गरेको छ भने भवन तथा भूउपयोग शाखाका इन्जिनियर राजेन्द्र थापा, नगर प्रहरी सञ्जय प्रधान र वडा नं. ३ का कार्यालय सहयोगी दिपेश नेपाललाई उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत गरिएको छ ।
उहाँहरुलाई नगर प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मीना खतिवडा पौडेल, प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्ताले दोसल्ला ओढाइ सम्मान पत्र प्रदान गर्नुभयो ।




