
उर्लाबारी, ७ असार
११ औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा उर्लाबारी नगरपालिकामा प्रभातफेरी तथा योग जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ । “सिंगो पृथ्वी मानव स्वास्थ्यका लागि योग” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा नगरवासीको उल्लेख्य सहभागिता देखिएको थियो ।
उर्लाबारी नगरपालिका शिक्षा शाखा, ब्रह्मकुमारी राजयोग सेवा केन्द्र उर्लाबारी, मनमोहन प्राविधिक विश्वविद्यालय योग प्रशिक्षक तालिम उर्लाबारी, पतञ्जली योग नगर समिति उर्लाबारी र विश्व शान्ति तथा आध्यात्म विज्ञान समाज उर्लाबारीको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो । आज बिहान उर्लाबारी–७ स्थित बरगाछीदेखि सुरु भएको प्रभातफेरी उर्लाबारी चोकसम्म पुगेको थियो । नगर प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मीना खतिवडा पौडेल, विभिन्न संघसंस्थाका प्रतिनिधि, योग प्रशिक्षक, विद्यार्थी, शिक्षाकर्मी तथा सर्वसाधारण गरी सयौं सहभागी रहेका थिए ।
कार्यक्रमका क्रममा सहभागीहरूले योग अभ्यास, ध्यान, सकारात्मक सोच, आत्मनियन्त्रण, स्वस्थ जीवनशैली र मानसिक सन्तुलनका पक्षमा चर्चा परिचर्चा गरेका थिए । नगर प्रमुख खरेलले योगलाई जीवनशैलीमा अभिन्न रूपमा समावेश गर्दै स्वास्थ्य, मानसिक सन्तुलन र समृद्ध जीवनतर्फ अघि बढ्न सबैमा आग्रह गर्नुभयो ।
