About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

ताप्लेजुङ, २४ जेठ
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा स्थानीय बासिन्दा र गाउँपालिकाको सहकार्यमा जनश्रमदानमार्फत ग्रामीण सडकको मर्मत गरिएको छ । स्थानीय विकास र आपसी सहयोगको उदाहरण प्रस्तुत गर्दै, आठराई त्रिवेणी गाउँपालिकाको सिमाना चाँगेदेखि मैवाखोला गाउँपालिकाको मानेडाडा – चित्रे – भुसुने – मुढे – लाली – बुङ्दाकसम्म विस्तार भएको “मुख्यमन्त्री ग्रामीण कृषि सडक’ को जोखिमयुक्त तथा जीर्ण खण्डहरूमा मर्मतसम्भार गरिएको हो ।
मर्मत कार्यमा मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमको नेतृत्वमा वडा नं. १ र २ का करिब १५० स्थानीयबासी सहभागी भएका थिए । उनीहरू झम्पल, गैँती, कोदालो लगायतका औजार बोकेर सडक मर्मतमा जुटेका थिए । सडक मर्मतमा गाउँपालिकाले पाँचवटा ट्याक्टर र एउटा जेसीभीको व्यवस्थापन गरेको थियो । स्थानीय व्यवसायी जयप्रसाद भट्टराई, तेज चोङबाङ र भानु वनेमले ट्याक्टर उपलब्ध गराएका थिए ।
यस सडक खण्डले मैवाखोला गाउँपालिकाको विभिन्न बस्तीहरूलाई आपसमा मात्र नभई अन्य नजिकका पालिकासँग पनि जोड्ने कार्य गर्छ । सिजन अनुसार हुने भारी वर्षा र भूक्षयका कारण सडक जीर्ण हुने गरेको हुँदा यस्तो मर्मत कार्यले आगामी समयमा यातायात तथा कृषिजन्य उत्पादन ढुवानीमा सहजता ल्याउने अपेक्षा गरिएको छ ।
श्रमदानमा सहभागी हुने सम्पूर्णलाई गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले धन्यवाद ज्ञापन गर्नुभएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर