About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २३ जेठ
उर्लाबारी नगरपालिकाले कृषकलाई ७५ प्रतिशत अनुदानमा ‘कृषि हलो’ वितरण गरेको छ । यान्त्रिकीकरणमार्फत कृषकलाई व्यावसायिक बनाउने र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले नगरपालिकाले पहिलो चरणमा ८० थान कृषि हलो वितरण गरेको हो ।
कृषकहरुलाई कार्यवाहक नगर प्रमुख मीना खतिवडा पौडेलले उक्त हलो वितरण गर्नुभयो । प्रविधिको उपयोग गरी खेतबारी जोत्न सजिलो होस् भनेर मागमा आधारित भएर किसान लक्षित कार्यक्रम ल्याइएको उहाँको भनाइ छ । माग र आवश्यकताका आधारमा किसानलाई कृषि हलो वितरण गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख अम्बिकाप्रसाद लुइटेलले जानकारी दिनुभयो । उहाँले कृषिलाई यान्त्रिकीकरणमा जोडी उत्पादन लागत घटाउन यो कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । कृषकहरुको समूह र फर्मलाई हलो वितरण गरिएको हो ।
कृषि हलो बाहिरबाट खरिद गरेर ल्याइएको होइन । उर्लाबारी–७ को दिपक सप्लायर्सबाट खरिद गरिएको हो । खासै प्रयोगमा नआएको तर उपयोगी ‘कृषि हलो’ उर्लाबारी–७ का दीपक भण्डारीको अवधारणा अनुसार यहीँ निर्माण गरिएको हो । बाँदर धपाउने यन्त्र बनाएर काफी चर्चा बटुलेका दिपक सप्लायर्सका सञ्चालक भण्डारीद्वारा निर्मित फरक खालको कृषि हलो उर्लाबारी नगरपालिकाले प्रबद्र्धन गरेपछि उहाँ दंग हुनुहुन्छ ।
‘चाइनिज टेक्नोलोजी’ लाई पछ्याएर यस्तो हलो बनाइएको उहाँको कथन छ । अग्लो वा होचा जस्ता मानिसले पनि सहजै जोत्न सक्ने, इन्धन नलाग्ने, शारीरिक उर्जापनि खासै खर्चिनु नपर्ने हलोको विशेषता रहेको भण्डारी बताउनुहुन्छ । उहाँले नगरपालिकाका मेयर गंगाप्रसाद खरेललाई आफ्ना उत्पादनका विशेषता अवगत गराएपछि नगरपालिकाले प्रोत्साहन गरेको भन्दै आफ्ना उत्पादनको बजारीकरणमा टेवा पुगेको प्रतिक्रिया दिनुभयो । यो कृषि हलो खासगरी मकै, आलु र अन्य तरकारी बालीका लागि खनजोतमा उपयोगी हुने भन्दै उर्लाबारी–१ का कृषक नगेन्द्र मगरले आफ्नो समूहलाई उपलब्ध गराएकोमा नगरपालिकाप्रति आभार व्यक्त गर्नुभयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर