
उर्लाबारी, ७ जेठ
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) नगर समिति उर्लाबारीले प्याव्सन आवद्ध एक विद्यालय कर्मचारीलाई आर्थिक सहयोग प्रदान गरेको छ । उच्च रक्तचापका कारण प्यारालाइसिस भई दुई महिनादेखि उपचाररत भृकुटी मोडल एकाडेमी, उर्लाबारी–७ का कर्मचारी तुलसी खड्काको उपचार सहयोग स्वरुप प्याव्सनले २ लाख ५१ हजार ५० रुपैयाँ सहयोग उपलब्ध गराएको हो ।
आज प्याव्सन नगर समितिको कार्यालयमा एक संक्षिप्त कार्यक्रम गरी उक्त रकमको चेक खड्काकी श्रीमती पवित्रा खड्कालाई प्याव्सन उर्लाबारीका अध्यक्ष सूर्य पौडेललगायतले हस्तान्तरण गर्नुभयो । कार्यक्रमा प्याव्सन नगर सचिव एलपी राई, सल्लाहकार दिनेश पोख्रेल, लेखनाथ भट्टराई, सुरेन्द्र सुवेदी, भुवन श्रेष्ठ, प्याव्सन आवद्ध विद्यालयका सञ्चालक, प्रिन्सिपललगायतको उपस्थिति रहेको थियो । खड्काको विराटनगरस्थित विराट टिचिङ हस्पिटलमा उपचार भइरहेको छ ।
प्याव्सन नगर अध्यक्ष पौडेलले मानवीयतामा आधारित यस्ता सहयोग कार्यक्रमहरुले विद्यालय समुदायभित्र आपसी सहकार्य र सहानुभूतिको भावना विकास गर्न मद्दत पु¥याउने बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो अभियान केवल शिक्षामा सीमित छैन, जब हामीमध्ये कोही संकटमा पर्छ, हामी सबै एक भएर साथ दिनुपर्छ भन्ने हाम्रो मान्यता हो ।’ प्याव्सन आवद्ध विद्यालयहरुबाट रकम संकलन गरी सहयोग हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।
