About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

इटहरी, २१ कार्तिक
झापाको चन्द्रगढीका पर्शुराम दाहाल कमै नेपालीले अवसर पाएको सफलता प्राप्त गर्ने आर्टिफिसियल इन्टिलिजेन्स (एआई) वैज्ञानिक हुन् । जो अमेरिकाको प्रतिष्ठित संस्थामा एआई अनुसन्धानकर्ताका रुपमा कार्यरत छन् ।
पर्शुराम दाहालको जीवन संघर्ष र सफलता दुवैको अनुपम मिश्रण हो । तीन दिदी बहिनी र ६ दाजुभाइको ठूलो परिवारमा हुर्किएका पर्शुरामले अभाव र चुनौतीहरूलाई शिक्षा र मेहनतको बलमा पार गर्दै आफूलाई आज विश्वस्तरीय एआई विज्ञका रूपमा स्थापित गरेका छन् ।
विद्यालय जीवनमा हरेक दिन दुई माइल पैदल हिँडेर वीरेन्द्र माध्यमिक विद्यालय पुग्ने उनको लगनशीलता र अनुशासनले पर्शुरामलाई सधैं शीर्ष तीन विद्यार्थीको रूपमा चिनायो । सधैं छात्रवृत्ति पाउने भएकोले विद्यालयमा शुल्क तिर्नु परेन । स्नातक र स्नातकोत्तर तहमा भौतिकशास्त्र, रसायनशास्त्र र गणितमा अध्ययन गर्दा उनले प्रायः पूर्ण छात्रवृत्ति प्राप्त गरे ।
सरकारी सेवामा तीन वर्षसम्म काम गरेपछि उनको मन गम्भीर दोधारमा प¥यो – एकातिर निजामती सेवामा उच्च पद हासिल गर्ने सपना पछ्याउने कि अनुसन्धान र करियरलाई नयाँ उचाइमा पु¥याउने । पाइला पाइलामा हुने भ्रष्टाचारले दाहालको मन पोल्थ्यो । इमानदार भएर मात्र आर्थिक प्रगति सम्भव नहुने कठोर यथार्थले उनलाई निराश बनायो । भ्रष्टाचार गरेर पैसा कमाउन उनको इमानले दिएन । अन्ततः उनले इमानदारी र अनुसन्धानप्रतिको आफ्नो गहिरो लगावलाई प्राथमिकता दिँदै अनुसन्धानलाई नयाँ उचाइमा पु¥याउने लक्ष्यका साथ अमेरिका जाने निर्णय गरे । यो निर्णय सजिलो थिएन, तर ठूला सपना पूरा गर्न बलिदान र साहस अनिवार्य हुन्छ भन्ने विश्वासमा उनी अडिग रहे । संघर्षको बाटो रोज्दै, परिवारप्रतिको माया र आफ्नो रुचिप्रति अटुट समर्पणले हौसला थप्दै, उनले जीवनको नयाँ यात्रा सुरु गरे, अमेरिकामा शैक्षिकयात्रा अघि बढाउने निर्णय गरे र टोफेल÷जिआरई परीक्षामा उत्कृष्ट प्रदर्शन गर्दै अमेरिकाको ओक्लाहोमा विश्वविद्यालय पुगे ।
अमेरिकामा मास्टर र पीएचडीको अवधिमा डा. पर्शुराम दाहाललाई पढाइ र अनुसन्धानबाहेक आर्थिक रूपमा कहिल्यै चिन्तित हुनु परेन । उनले सधैं शैक्षिक सहायक र अनुसन्धान सहायकको रूपमा काम गरे, जसले गर्दा उनको शिक्षादेखि दैनिक खर्चसम्मको सबै व्यवस्थापन सहजै भयो । शैक्षिक सहायक र अनुसन्धान सहायकबाट प्राप्त भएको आर्थिक सहयोगले उनलाई पूर्ण रूपमा शिक्षामा केन्द्रित रहन र अनुसन्धानमा उत्कृष्टता हासिल गर्न प्रेरित गर्यो ।
उनले ओक्लाहोमा विश्वविद्यालयमा एटमिक र मोलेक्युलर फिजिक्समा पीएचडी अध्ययन गरे । पीएचडी पूरा गरेपछि उनी अमेरिकाको एक प्रतिष्ठित संस्थामा एआई विज्ञ रूपमा कार्यरत छन् । त्यतिको पद, प्रतिष्ठा आर्जनमा पुग्ने कमै नेपालीमध्ये एक हुन् डा. पर्शुराम दाहाल ।


अमेरिकामा रहे पनि नेपालमा एआइको प्रयोगको सम्भावनालाई डा. दाहालले नजिकबाट नियालिरहेका छन् । नेपालको शिक्षा, स्वास्थ्य, पर्यटन, यातायात, कृषि क्षेत्रको बिकासमा एआई प्रभावकारी हुने डा. दाहालको भनाइ छ । भ्रष्टाचार नियन्त्रणका लागि समेत एआईको प्रयोग गर्न सकिने उनको धारणा छ । नेपालमा एआइको प्रयोग र विकासमा आफ्नो विशेषज्ञता प्रयोग गर्न सदैब तयार रहेको डा दाहालले बताए ।
उनले अमेरिकामा बसेर पनि नेपालप्रति आफ्नो माया र समर्पणमा कहिल्यै कमी आउन दिएनन् । त्रिभुवन विश्वविद्यालयका ७ भन्दा बढी स्नातक र स्नातकोत्तर विद्यार्थीहरूलाई एआई र भौतिकशास्त्रमा थेसिस पूरा गर्न मार्गदर्शन गर्दै नेपाली शैक्षिक क्षेत्रलाई थप सबल बनाउन उनले महत्वपूर्ण भूमिका खेलेका छन् । आफ्नो गाउँ चन्द्रगढीका उत्कृष्ट विद्यार्थीहरूलाई प्रोत्साहनस्वरूप पुरस्कार प्रदान गरेर उनी भविष्यका सम्भावनाहरूलाई हौसला दिइरहेका छन् । हालसम्म ४० जना विद्यार्थीलाई पुरस्कार प्रदान गरेका छन् । पुरस्कार प्राप्त गर्ने विद्यार्थी भन्छन डा. पर्शुराम दाहालको जीवन हामी सबैका लागि प्रेरणाको स्रोत हो । संघर्ष, मिहिनेत र लगनशीलताले कसरी जीवनलाई नयाँ उचाइमा पु¥याउन सक्छ भन्ने यो एउटा उत्कृष्ट उदाहरण हो । नेपालबाट अमेरिकी भूमिमा उपल्लो पद र प्रतिष्ठा केवल एउटा सफलताको कथा होइन, हरेक युवाहरूका लागि एउटा प्रेरणादायी मार्गदर्शन पनिहो ।

डा दाहालले टेक्सासमा रहेका नेपाली समुदायलाई सहयोग गर्दै उनले सामाजिक कार्यमा पनि महत्वपूर्ण योगदान पु¥याएका छन् । “अभाव र कठिनाइहरूले भविष्यलाई रोक्दैन; सपना ठूलो देख्न र त्यसलाई साकार पार्न दृढ इच्छा शक्तिको आवश्यकता हुन्छ“ डा. पर्शुराम दाहालको जीवनले हामीलाई यही पाठ सिकाउँछ । डा. दाहाल आफ्नो परिवारसहित टेक्सासमा बस्दै आएका छन् ।
(एआई वैज्ञानिक डा. पर्शुराम दाहालसँग र उनका बारेमा गरिएको सोधपुछका आधारमा पत्रकार लिलाराज भट्टराईले तयार पार्नुभएको लेख)

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय