
इटहरी, २२ माघ
नेकपा एमालेका स्थायी कमिटी सदस्य, प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले कुनै पनि बेला देश आर्थिक रुपमा टाट पल्टिन सक्ने चेतावनी दिनुभएको छ । प्रेस चौतारी सुनसरीले २६ औं स्थापना दिवसको अवसरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले देश आर्थिक रुपमा जर्जर अबस्थामा रहेको बताउनुभयो । नेता गौतमले भन्नुभयो “देश गठबन्धनको बन्दी बनिरहेको छ । रेमिट्यान्सले मात्र कहिलेसम्म देश चल्न सक्छ ?”
एक अर्को सन्दर्भमा उहाँले लोकतन्त्रको बिकल्प राजतन्त्र कुनै हालतमा हुन नसक्ने प्रष्ट पार्नुभयो । लोकतन्त्रको बिकल्प भनेको उन्नत लोकतन्त्र हो राजतन्त्र होइन, गौतमको भनाई छ । मिडिया क्षेत्रको समस्या र समाधानका उपाय बिषयक अन्तरक्रियामा उहाँले मिडियाले युगको चुनौती र हाँकलाई स्वीकारेर आफूलाई रुपान्तरण गर्न सक्नुपर्नेमा जोड दिनुभयो । समानुपातिक बिज्ञापन नीति लागु गर्न कानुनको ब्यबस्थालाई सच्याउनुपर्ने उहाँको भनाई छ ।
कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य देवेन्द्र कार्कीले मिडियाका चुनौती बिषयक कार्यपत्र प्रस्तुत गर्नुभयो । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष लिलाराज भट्टराईले मिडियाका समस्या समाधानका उपायहरु प्रस्तुत गर्नुभयो । कार्यपत्रमाथि टिप्पणी गर्दै प्रेस चौतारी नेपालका सचिव विक्रम लुइटेलले पत्रकारिता क्षेत्रमा पनि शुद्धिकरण जरुरी रहेकोमा जोड दिनुभयो ।
एमाले कोशी प्रदेश प्रचार बिभाग प्रमुख लक्ष्मण तिवारीले मिडिया डिजिटलमैत्री बन्नुपर्ने आवश्यकता औंल्याउनुभयो । कार्यक्रममा एमाले सुनसरी अध्यक्ष रेवती भण्डारीले मिडिया युग सुहाउदो हुनुपर्ने त्यसका लागि तीनै तहका सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनक ऋषि राई, प्रेस सेन्टरका उपमहासचिब राजन केडी, प्रेस युनियन सुनसरी अध्यक्ष धु्रव ढकाल लगायतले कार्यपत्रमाथि टिप्पणी गर्नुभयो । प्रेस चौतारी सुनसरी अध्यक्ष सुभद्रा प्याकुरेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष विकास राईले स्वागत गर्नुभयो ।
यसैबीच कृष्णप्रसाद सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कार २०८० बाट पत्रकार रञ्जना अधिकारी पुरस्कृत हुनुभएको छ । प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवसका अवसरमा प्रेस चौतारी मोरङले विराटनगरमा आयोजना गरेको कार्यक्रममा एमाले प्रचार तथा प्रकाशन बिभाग प्रमुख राजेन्द्र गौतमले पुस्कार प्रदान गर्नुभयो । पुरस्कारको राशी १५ हजार रहेको छ ।
