
उर्लाबारी, २७ पुस
३०२ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस आज विविध कार्यक्रम गरी मनाइएको छ । आज उर्लाबारीमा पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मूल समारोह समितिको आयोजनामा कार्यक्रम गरिएको हो ।
कार्यक्रमका बक्ताहरुले राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहको योगदानको चर्चा गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मीना खतिवडा पौडेल, वडा नं. ७ की वडाध्यक्ष उर्मिला थापा, नेकपा एमाले उर्लाबारीका अध्यक्ष गंगाप्रसाद बास्तोला, ब्रह्मकुमारी राजयोग सेवा केन्द्र उर्लाबारीकी सञ्चालिक ब्रह्मकुमारी मीरा, बालक सार्थक ढकाललगायतले एकता दिवसका बारेमा आ–आफ्ना धारणा राखेका थिए ।
विविध सांस्कृतिक कार्यक्रमका साथ आयोजित कार्यक्रममा राप्रपा प्रदेश समिति सदस्य पूर्ण वाइवाले स्वागत मन्तव्य राख्नुभएको थियो । मूल समारोह समितिका संयोजक देवीप्रसाद दाहालको अध्यक्षतामा भएको कार्यक्रममा उर्लाबारीका राजनीतिक दलका प्रमुखहरु, संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, व्यापारी, व्यवसायीलगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन ज्ञानेन्द्र ओलीले गरेका थिए ।
