इटहरी, २७ मंसिर
नेकपा एमालेको मध्यपहाडी लोकमार्ग सम्वृद्धि यात्राका क्रममा भोलि मंसिर २८ गते तेहथुमको बसन्तपुरमा हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । एमाले कोशी प्रदेश प्रचार तथा प्रकाशन विभाग प्रमुख लक्ष्मण तिवारीका अनुसार बसन्तपुरमा १५ हजारभन्दा बढीको सहभागिता हुने गरी तयारी गरिएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने सभामा सुनसरी, मोरङ, तेह्रथुम, धनकुटा र संखुवासभाबाट सहभागिता रहने छ । सुनसरी मोरङबाट मात्र ६० वटा वस, ६० वटा कार जीप र तीन सय बढी मोटरसाइकलमा सहभागी हुने नेता तिवारीले बताउनुभयो । आजैदेखि सहभागीहरु बसन्तपुर जान थालेका छन् । भोलि दिउसो साढे १२ बजे बसन्तपुरमा सभा सुरु हुने छ ।
बसन्तपुरमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लिम्बू संस्कृति अनुसार स्वागत गरिने छ । बसन्तपुर बजारमा हुने आमसभामा ५ सय १ जना स्वयम्सेवक खटिने छन् । सभाअघि बिभिन्न जातजाति भाषभाषीको झाँकीसहित जुलुस निकालिने कार्यक्रम मुल आयोजक समितिका सहसंयोजक समेत रहेका नेता तिवारीले जानकारी दिनुभयो । आमसभाअघि चोलुङपार्क र त्यहाँ स्थित ऐतिहाँसिक संग्रहालय निरीक्षणको कार्यक्रम छ ।
बसन्तपुर मध्यपहाडी लोकमार्गमा पर्ने शहर हो । लोकमार्गमा रहेका १० शहरमा सञ्चालित नयाँ शहर आयोजना बसन्तपुरमा पनि सञ्चालित छ । बसन्तपुर गुराँसको राजधानी तीनजुरे मिल्के जलजलेको प्रवेशद्वार हो ।




