उर्लाबारी, ८ मंसिर
झापाको विर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाको २३ औँ वार्षिक साधारणसभा अन्तरगत इकाइगत सभा बुधबार उर्लाबारीमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष टसबहादुर प्रधानको अध्यक्षतामा इकाई ६ काे साधारणसभा गरिएको हाे । साधारणसभाका प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य उमाकान्त गौतमले सहकारीहरुले उत्पादनमुलक क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिनुभयाे ।


उहाँले देखाउनका लागि मात्र नभएर लगानीलाई सुरक्षित राख्न पनि उत्पादनमुलक क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको बताउनुभयो । उहाँले साना–साना सहकारीहरुलाई मर्ज गरेर ठुलो पुँजीको निर्माण गर्नुपर्ने र मुलुकको समृद्धिका लागि सहकारी अभियान र सहकारी भावना अपरिहार्य रहेको बताउँदै सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्न सकिने धारणा राख्नुभयो ।
त्यस्तै, उर्लाबारी– ७ कि वडाध्यक्ष उर्मिला थापाले सहकारीको लगानीलाई शेयर सदस्यहरुले सहि ठाउँमा प्रयोग गर्न सकेमात्र समृद्ध बन्न सक्ने बताउनुभयो । साकोसका अध्यक्ष टसबहादुर प्रधानले आर्थिक मन्दीले सहकारी क्षेत्रपनि प्रभावित रहेकाले संवेदनशिल भएर लगानी गर्नुपर्ने अवस्था आएको बताउनुभयो । संस्थाले अघिल्लो आर्थिक वर्षमा गरेका बित्तिय कारोबार र सामाजिक सेवाका कार्यक्रमबारे प्रतिवेदन मार्फत अवगत गराईएको संस्थाका उर्लाबारी सेवा केन्द्र प्रमुख भीम पाैडेलले बताउनुभयो । २०५७ सालमा झापाको बिर्तामोडमा कार्यालय रहेर स्थापित सहकारीको झापा, मोरङ र ईलाम कार्यक्षेत्र बनाएर वित्तीय काराेबार गर्दै आएको छ ।


