उर्लाबारी, २८ असोज
हाम्रो बचत तथा ऋण सहकारी संस्था उर्लाबारी–५ ले साधारणसभाको अवसरमा पत्रकार, ज्येष्ठ शेयर सदस्य, उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यलाई सम्मान गरेको छ । घटस्थापनाको दिन वार्षिक साधारणसभा गर्ने परम्परा अनुसार उक्त सहकारीले आज २७ औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
संस्थाको सभाहलमा भएको साधारणसभामा पत्रकार सुमन घिमिरेलगायत ज्येष्ठ शेयर सदस्य, बचत तथा ऋणमा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो । उर्लाबारी नगरपालिकाका नगर प्रमुख तथा संस्थाका पूर्वअध्यक्ष गंगाप्रसाद खरेलको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा उहाँले अहिलेको आर्थिक मन्दीको समयमा सचेत भएर कारोबार गर्नुपर्ने बताउनुभयो । शेयर सदस्यको अधिकतम हितमा सहकारीले कार्य गर्नुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रमकी विशिष्ट अतिथि उर्लाबारी नगरपालिकाकी उपप्रमुख मीना खतिवडा पौडेलले विपन्नहरुको आर्थिक स्तर उकास्ने किसिमका कार्यक्रम सहकारीले ल्याउनु पर्ने बताउनुभयो । उहाँले बालबालिका, ज्येष्ठ, विपन्न वर्ग लक्षित कार्यक्रमतर्फ ध्यान दिन आग्रह गर्नुभयो । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष भूपालसिं जिमीले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो ।

संस्थाका अध्यक्ष डिवी थापाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव मनोरथ भण्डारीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष ज्ञानेन्द्र भट्टराईले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक विकाश बुढाथोकीले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए । तीन वटै प्रतिवेदनमाथि उठेका जिज्ञासाको अध्यक्ष थापा र व्यवस्थापक चक्र खड्काले प्रष्टीकरण गरेपछि पारित गरिएको थियो । मोरङको उर्लाबारी, पथरीशनिश्चरे नगरपालिका, रतुवामाई नगरपालिका वडा नं. ८, ९ र १०, लेटाङ नगरपालिका वडा नं. ८ र ९ तथा मिक्लाजुङ गाउँपालिका कार्यक्षेत्र रहेको हाम्रो बचतमा ७ हजार २६० जना शेयर सदस्य रहेको कोषाध्यक्ष ज्ञानेन्द्र भट्टराईले जानकारी दिनुभयो ।




