उर्लाबारी, २७ असोज
सुदर्शन बचत तथा ऋण सहकारी संस्था उर्लाबारीको १३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । असोज २४ गतेदेखि सुरु भएको संस्थाको इकाइगत सधारणसभाअन्तर्गत पथरीशनिश्चरे, मिक्लाजुङ र दमकमा सम्पन्न भई आज उर्लाबारीस्थित उद्योग वाणिज्य संघको सभाहलमा सम्मान तथा समापन कार्यक्रम भएको हो ।
साधारणसभाको अवसरमा उक्त सहकारीले तीन जना पत्रकारसहित दर्जनौं शेयर सदस्यलाई सम्मान गरेको छ । उर्लाबारीका पत्रकार केदार चौहान, सरोज बस्नेत र दमकका पत्रकार विष्णुप्रसाद पोख्रेललाई जनही नगद ५ हजारसहित संस्थाले सम्मान गरेको हो । यस्तै, उत्कृष्ट शेयर सदस्य, उत्कृष्ट बाल बचतकर्तालाई पनि संस्थाले सम्मान गरेको छ ।
साधारणसभा समापन कार्यक्रममा प्रमुख अतिथि जिल्ला सहकारी संघ मोरङका सचिव राकेश दाहालले देशका २९ हजार सहकारीमध्ये सबै सहकारी राम्रो नतिजामुखी नभएको बताउँदै सहकारीहरु उत्पादनमुखी भई शेयर सदस्यहरुको हितमा रहेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले सहकारीमा पुँजी थुप्रिएको भन्दै आँखा गाड्नेहरुले सहकारीको बारेमा जनमानसमा अनावश्यक भ्रम फैलाउने गरेकोले सतर्क रहन शेयर सदस्यलाई आग्रह गर्नुभयो ।
संस्थाका अध्यक्ष गोपालप्रसाद भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबिकुमार राई, राष्ट्रिय सहकारी बैंक उर्लाबारी शाखा प्रमुख विवेक रिजाल, उद्योग वाणिज्य संघ उर्लाबारीका अध्यक्ष शेरबहादुर भण्डारीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
संस्थाका लेखा समिति संयोजक राजु तिम्सिनाले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको सञ्चालन संस्थाका सदस्य घनश्याम भण्डारीले गरेका थिए । मोरङको उर्लाबारीमा १३ वर्षअघि स्थापना भएको सुदर्शन साकोसका मोरङको पथरीशनिश्चरे र मधुमल्ला तथा झापाको दमकमा सेवा केन्द्र सञ्चालनमा छन् । संस्थामा ५ करोड १५ लाख ९२ हजार ७ सय रुपैयाँ शेयर पुँजी र १० हजार १६ जना शेयर सदस्य रहेको संस्थाका कार्यकारी प्रमुख थरेन्द्रराज पौडेलले जानकारी दिनुभयो । गत आर्थिक वर्ष २०७९।०८० मा संस्थाको आम्दानी ८ करोड २२ लाख ७९ हजार २७८ र कुल खर्च ७ करोड ९३ लाख ९१ हजार ९८ रुपैयाँ भई २८ लाख ८८ हजार १८० रुपैयाँ मुनाफा भएको प्रतिवेदनमा उल्लेख छ । उक्त आर्थिक वर्षमा संस्थाले कुल ६३ करोड ११ लाख ६८ हजार ७०६ रुपैयाँ बराबरको कारोबार गरेको कार्यकारी प्रमुख पौडेलले बताउनुभयो ।




