विराटनगर, १६ असोज
नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी हुनु भएको छ । विराटनगरमा सम्पन्न प्रथम प्रदेश अधिवेशनबाट अध्यक्षका अर्का प्रतिस्पर्धी विनोद ढकाललाई ८२ मतान्तरले पराजित गर्दै खतिवडा अध्यक्षमा विजयी हुनु भएको हो । खतिवडाले ५१२ मत ल्याइ विजयी हुँदा ढकालले ४३० मत ल्याउनुभयो । यस्तै २६ मत भने बदर भएको छ । खतिवडा मोरङ १ बाट निर्वाचित पूर्व सांसद् तथा नेकपा एमाले कोशी प्रदेश सचिवालय सदस्य हुनुहन्थ्यो भने ढकाल केन्द्रीय कमिटी सदस्य हुनुहुन्छ ।
पदाधिकारीतर्फ उपाध्यक्षमा धनकुटाका टीकाराम चेम्जोङ सर्वसम्मत् चयन हुनुभयो भने सचिवमा पाँचथरका राजकुमार भण्डारी निर्वाचित हुनुभयो । उहाँले सचिवका प्रतिस्पर्धी शैलेश लामालाई पराजित गर्नुभएको हो । यस्तै, उपसचिवमा झापाकी जलवर्षा राजवंशी र खोटाङका देवान राई विजयी हुँदा मोरङका खेम नेपाली पराजित हुनुभयो । विजयी सबै जना खतिवडाकै प्यानलबाट प्रतिस्पर्धा गरेका थिए ।




