उर्लाबारी, १२ असोज
नेपाली भाषा शिक्षण, पाठ्यक्रम विमर्श र सिर्जनात्मक लेखन सम्बन्धी एक दिने कार्यशाला उर्लाबारीमा सम्पन्न भएको छ । उत्तरी मोरङका पाँच ओटा पालिकाका विद्यालयका नेपाली शिक्षकहरुको सहभागितामा उर्लाबारी नगरपालिकाको सभाहलमा कार्यशाला सम्पन्न भएको हो ।
उर्लाबारी नगरपालिका र ऐरावती प्रकाशन प्रालिको संयुक्त आयोजना एवम् उर्लाबारी प्याब्सनको प्राविधिक सहयोगमा कार्यशाला सम्पन्न भएको हो । सो अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद् सदस्य, कवि, समालोचक तथा नेपाली पाठ्यपुस्तक लेखक प्रा. डा. देवी नेपाल, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक, पाठ्यपुस्तक लेखक, पाठ्यक्रम विज्ञ तथा साहित्यकार डा. गणेश भट्टराईले सहजीकरण गर्नुभएको थियो ।
कार्यशालामा उर्लाबारी, पथरीशनिश्चरे, रतुवामाई नगरपालिका तथा मिक्लाजुङ र कानेपोखरी गाउँपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयका विषयगत शिक्षकको सहभागिता थियो । कार्यक्रमका प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले उर्लाबारी नगरपालिकाले शिक्षालाई विशेष ध्यान दिएको र सामुदायिक विद्यालयको गुणस्तर सुधारमा लागिरहेकोले विषयगत तालिमले नयाँ उर्जा थप्ने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा प्याव्सनका केन्द्रीय सदस्य केदार खनालले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो । ऐरावती प्रकाशनका अध्यक्ष रामदेव पाण्डेको अध्यक्षतामा भएको कार्यक्रम सञ्चारकर्मी विनोद सापकोटाले सञ्चालन गर्नुभएको थियो ।




