About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ९ साउन
निर्वाचन आयोगले चुनावी खर्च सार्वजनिक नगर्ने २ हजार ४ सय ३५ उम्मेदवारलाई जनही १५ हजार रूपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवार भई कानुनले तोकेको समयभित्र निर्वाचन खर्च सार्वजनिक नगर्ने उम्मेदवारलाई आयोगले जरिवानाको निर्णय गरेको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार निर्वाचन खर्च सार्वजनिक नगर्ने उम्मेदवारमा प्रतिनिधिसभा तर्फका १ हजार ३७ र प्रदेशसभा तर्फका १ हजार ३ सय ९८ जना गरी २ हजार ४ सय ३५ जना रहेका छन् । जरिवाना लागेका उम्मेदवारले ३५ दिनभित्र राजश्व दाखिला गरी सोको भौचरसहितको निवेदन अयोग वा सम्बन्धित निर्वाचन कार्यालयमा पेश गर्न आदेश दिने निर्णय गरिएको प्रवक्ता पौडेलले बताए ।
मोरङ १ मा प्रतिनिधिसभा सदस्य उम्मेद्वारमध्ये खर्च विवरण सार्वजनिक नगर्ने राष्ट्रिय जनमुक्ति पार्टीकी बुद्धमाया लिम्बू, हाम्रो नेपाली पार्टीका राजेन्द्रप्रसाद पौडेल र राष्ट्रिय प्रजातन्त्र पार्टीका होमनाथ गौतम जनही १५ हजार रुपैयाँ जरिवानामा परेका छन् ।
यस्तै, प्रदेशसभा सदस्य उम्मेद्वारतर्फ मोरङ १ (१) बाट निर्वाचित सांसद उमाकान्त गौतमले पनि खर्च विवरण सार्वजनिक गरेका छैनन् । यस्तै, राप्रपाका पूर्णबहादुर वाइवा तामाङ, स्वतन्त्र उम्मेद्वार खड्गबहादुर थापा, मोरङ १ (२) बाट उम्मेद्वार रहेका राष्ट्रिय जनमुक्ति पार्टीका टंकबहादुर गुरुङ, राप्रपाका सन्तोष कार्की र स्वतन्त्र उम्मेद्वार दिपक राईले खर्च विवरण सार्वजनिक नगरेर जरिवानामा परेका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय