उर्लाबारी, २५ असार
गत माघमा उर्लाबारीमा सम्पन्न प्रादेशिक महोत्सवको हिसाब सार्वजनिक गरिएको छ । माघ २१ देखि २९ गतेसम्म सञ्चालन भएको प्रादेशिक औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सवबाट संघलाई १० लाख रुपैयाँ आम्दानी प्राप्त भएको छ ।
आज संघमा आयोजित हिसाब सार्वजनिक कार्यक्रममा महोत्सवका संयोजक तथा संघका पूर्व अध्यक्ष चन्द्रबहादुर भट्टराई भरतले विविध कारणबाट हिसाव सार्वजनिक गर्न ढिला भएता पनि संघले उद्देश्य अनुरुप उपलब्धि हासिल गरेको बताए । महोत्सवमा ४५ हजार दर्शकले अवलोकन गरेको, १ सय ७० व्यवसायिक स्टलबाट १ करोड १० लाख बराबरको जनाइएको छ ।
महोत्सवबाट संघलाई १० लाख २ हजार ५ सय ७९ रुपैयाँ नाफा प्राप्त भएको सो अवसरमा जानकारी गराइयो । कार्यक्रममा संघका अध्यक्ष शेरबहादुर भण्डारीले उर्लाबारीमा १५ वर्षपछि आयोजना गरिएको महोत्सवले नगरको आर्थिक उचाइ बढ्नुको साथै औद्योगिक र आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव परेको बताए ।
सो अवसरमा संघका पूर्वअध्यक्षहरु तेजकुमार रिजाल, कल्याणराज भण्डारी, केशबबहादुर कार्की, धर्म शाक्य, निवर्तमान अध्यक्ष प्रितम खड्गीलगायत संघका पदाधिकारी, सदस्यहरुको उपस्थिति रहेको थियो ।




