उर्लाबारी, १६ वैशाख
दमकमा सञ्चालनमा आएको किओच दमक बाल अस्पताललाई कांग्रेस नेता एवम् पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले ५० लाख रुपैयाँ प्रदान गरेका छन् । डा. रिजालले आफ्ना माता पिताको स्मृतिमा स्थापना गरेको पुन्यश्री फाउण्डेशन मार्फत प्रदान गरेको सो रकम बराबरको चेक शनिबार रतुवामाईमा आयोजित एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ ।
आज पूर्वमन्त्री डा. रिजालले बाल अस्पतालका परिकल्पनाकार एवम् संस्थापक समेत रहेका काठमाडौं इन्स्टीच्यूट अफ चाइल्ड हेल्थका अध्यक्ष डा. भगवान कोइरालालाई सो चेक हस्तान्तरण गरेका हुन् । रतुवामाई नगरपालिकाका प्रमुख नागेन्द्रप्रसाद सिंह र दमक नगरपालिकाका कार्यवाहक प्रमुख भीमप्रसाद पौडेलको रोहवरमा रतुवामाई–७ स्थित विश्वनाथ मन्दिरको सभाहलमा आयोजित कार्यक्रमका बीच चेक हस्तान्तरण गर्दै कांग्रेस केन्द्रीय सदस्य समेत रहेका सो क्षेत्रका पूर्व सांसद डा. रिजालले बालबालिकाहरुको स्वास्थ्य सेवालाई मध्यनजर गरेर सञ्चालनमा आएको दमकस्थित सो बाल अस्पतालको प्रशंसा गरे ।
उनले यसअघि अस्पतालको स्थलगत निरीक्षण समेत गरेका थिए । उक्त अवसरमा रिजालले समाजका लागि दिने योगदानले भावी सन्ततिहरुको भविष्य उज्यालो बनाउन सहयोग पुग्ने बताए । सो अवसरमा अस्पताल सञ्चालन पक्ष र पुण्यश्री फाउण्डेशनबीच सीमान्तकृत एवं विपन्न समुदायका बालबालिकाहरुको स्वास्थ्य उपचार सेवा सम्बन्धि सम्झौतामा हस्ताक्षर समेत भएको नेपाली काँग्रेस रतुवामाईका सचिव सुजित जैसवालले बताए ।
कार्यक्रममा डा. कोइरालाले बाल मृत्युदर घटाउने सरकारको अभियानमा सहयोग पु¥याउनकै लागि देशका सात वटै प्रदेशमा कम्तीमा एक एक वटा यस किसिमका बाल विशिष्टिकृत अस्पताल सञ्चालनको अवधारणा ल्याइएको बताए ।




