About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उद्योग बाणिज्य संघ इटहरीलाई चलायमान बनाई उद्योगी ब्यवसायीको हीत रक्षाका लागि नविन र रचनात्मक योजनाका साथ रञ्जु सिग्देल नेतृत्वको समूह चुनावी मैदानमा उत्रिएको छ । बैङ्कको ब्याजदर वृद्धिका कारणले उद्योगी व्यवसायीमा परेको समस्या समाधानका लागि सम्बन्धित निकायलाई यथेष्ठ दबाव सिर्जना गर्ने यो समूहले जारी गरेको प्रतिवद्धतामा मुख्य प्राथमिकता दिइएको छ । सफल व्यवसायीहरूलाई समय–समयमा सम्मान गर्ने साथै व्यवसायीहरूसँग अनुभव आदान–प्रदान गर्ने कार्यक्रम सञ्चालन गर्ने रञ्जु सिग्देल नेतृत्वको समूहको प्रतिवद्धता रहेको छ ।यस्तै बेरोजगार युवाहरूलाई रोजगारी दिने उद्देश्यसहित रोजगार बैङ्कको स्थापना गर्ने,स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न देशभरिका व्यवसायीहरूको पहुँच पुग्ने गरी वेबसाइट निर्माण गरी व्यवसाय वृद्धि गर्न पहल गर्ने प्रतिवद्धता ब्यक्त गरिएको छ ।व्यस्त व्यापारिक क्षेत्रहरूमा निवर्तमान अध्यक्ष लिलम बस्नेतले नेतृत्व गरेको टिमद्वारा सुरु भएको सोलार लाइट तथा सिसि क्यामेरा जडान कार्यलाई अन्य व्यापारिक क्षेत्रहरूमा पनि बिस्तारका लागि सम्बन्धित निकायसँग समन्वय गरी निर्धक्क व्यवसाय गर्ने वातावरण बनाई व्यावसायिक सुरक्षामा ध्यान दिने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । यसैगरी घरेलु तथा साना उद्योगीहरूका लागि घरेलु औद्योगिक ग्राम स्थापना गर्ने कार्यको सुरुआत गर्ने, इटहरी बजार क्षेत्रभित्र वैकल्पिक पार्किङको व्यवस्था नगरी पार्किङ निषेध गरिएकाले बजार क्षेत्रभित्रका खुद्रा व्यवसायीहरू विस्थापित हुने स्थिति रहेकाले सो समस्यालाई समाधान गर्न पहल गर्ने प्रतिवद्धता जनाइएको छ ।यस्तै व्यावसायिक हित रकम नियमन गर्ने,युवा स्वरोजगार,महिला उद्यमशीलताका कार्यक्रम सञ्चालन गर्ने प्रदर्शनी तथा मेला आयोजना गर्ने लगायत १८ बुँदे प्रतिवद्धता सार्बजनिक गरिएको छ ।


को हुन रञ्जु सिग्देल
युवा व्यवशायी रन्जु सिग्देल चौलागाईँ इटहरीमा व्यवशाय तथा समाजसेवाको क्षेत्रमा चिनिएको नाम हो । युवाअवस्थामै उनले व्यापार र सामाजिक काममा देखाएको सक्रियताकै कारण उनी यतिखेर माघ २८ गते हुने उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनको लागि अध्यक्ष उम्मेदवार बनेकी छिन् ।
श्रीमानले थालेको व्यवशायलाई सहयोग गर्दा गर्दै आज कुशल व्यवशायी बनेकी सिग्देलले सामाजिक दायित्व र अभियानहरुलाई पनि सँगसँगै लगेकी छिन् । व्यवशायी बनेर आफूमात्र कमाउने वा आफ्नै लागिमात्र सोच्ने भन्दा पनि समाजको विकासको लागि के योगदान गर्न सकिन्छ भन्ने सोँचका कारण उनी विभिन्न संघसंस्थाको नेतृत्व सम्हाल्दै यतिखेर व्यवशायीहरुको संघको नेतृत्व लिन अघि सरेकी छिन् ।
इटहरीस्थित सिग्मा सप्लायर्सकी सञ्चालिका सिग्देल परिवारले सानो लगानीमा इटहरीमा व्यवशाय सुरु गरेका थिए । सिग्देल निम्न मध्यमवर्गीय परिवारबाट प्रतिनिधित्व गर्छिन् । इटहरीमा व्यवशाय गर्ने धेरैजसो व्यवशायीहरु निम्न मध्यमवर्गीय नै छन् ।
‘त्यसैले सानादेखि ठूला सबै व्यवशायीहरुको पीडा बुझ्छु,’ उनी भन्छिन्, ‘हाम्रो परिवारले आफैले व्यवशाय स्थापित गरेको हुँदा साना र संघर्षशील युवा, महिला व्यवशायीहरुको समस्या मैले पनि भोगेकी छु ।’
शिक्षा शास्त्रमा स्नातकोत्तरसम्म अध्ययन गरेकी उनले पढाइ सके लगत्तै क्याम्पससमेत पढाइन् । व्यवशाय थालेपछि भने उनले अध्यापनलाई निरन्तरता दिन पाइनन् । तर उनले आफ्नो ज्ञान, सीप विभिन्न तालिमहरुमार्फत् भने बाँड्ने गरेकी छिन् । बौद्धिक र भिजनरी नेतृत्व सीप उनमा छ । जसले उनको व्यवशायिक र सामाजिक सक्रियतालाई ठूलो सहयोग गरेको छ । उनको श्रीमानलगायत परिवार नै व्यवशायमा छन्, एकपछि अर्को व्यवशाय थप्दै र शाखा विस्तार गर्दै लगेका छन् ।
त्योसँगै उनी सामाजिक कामहरुमा पनि सक्रिय छिन् । सामुहिकताको भावना राख्छिन् । समुहमा काम गर्ने कुशलता उनमा छ । उनले आजसम्म जति संघसंस्था वा संगठनमा जुनसुकै जिम्मेवारी पाएपनि कुशलतापूर्वक निर्वाह गरेको इतिहास छ ।
निर्वाह गर्न नसकिने जिम्मेवारी लिनु नै हुँदैन, जिम्मेवारी लिइसकेपछि इमान्दार भएर निर्वाह गर्नुपर्छ भन्ने उनको सोँच छ । ‘त्यसैले मैले हिजोका दिनमा जहाँ जस्तो जिम्मेवारी पाएपनि समय, श्रम दिएर पुरा गरेकी छु,’ उनी भन्छिन्, ‘संघको अध्या भएँ भने म दुई वर्षको पुरै समय संघको व्यवस्थित विकासलाई दिनेछु,’ उनी थप्छिन्, ‘भोलि मैले संघको नेतृत्व अर्को समितिलाई सुम्पँदै गर्दा इटहरीको व्यवशायिक विकासको आधार बनिसकेको हुनेछ ।’

रञ्जुले उद्योग वाणिज्य संघको सदस्य हुँदा गरेका काम
२०७३ सालमा भएको उद्योग वाणिज्य संघको निर्वाचनमा महिलातर्फ सदस्यमा निर्वाचित भइन् । उद्योग वाणिज्य संघको महिला सदस्य भूमिकाका हिसाबले निकै सानो ठाउँ हो । तर उनले आफ्नो मेहेनत र सीपलाई सक्दो उपयोग गरिन् र तीन वर्षको अवधिमा आफूले पाएको जिम्मेवारीभन्दा धेरै काम गरिन् ।
उनले महिला उद्यम समिति गठन गरेर महिला व्यवसायीहरुलाई समेटिन् र उनीहरुकै नेतृत्वमा महिला उद्यमी मेला लगाएर १४ वटा जिल्लाका महिलाहरुको प्रतिनिधित्व गराइन् ।
देशभरका विभिन्न कार्यक्रम, सभा, सम्मेलनमा इटहरीको प्रतिनिधित्व गराइन् । उद्यमीहरुका लागि विभिन्न किसिमका तालिमहरु आयोजना गरिन् । उनकै नेतृत्वमा इटहरीमा रोजगार मेला भयो । २०७४ सालमा बाढी गएको बेलामा विशेष गरि बाढि पिडित सुत्केरी महिला र बालबालिकालाई उनले सहयोग अभियान नै चलाइन् । जसमा इटहरीका व्यवशायीहरुले सक्दो सहयोग गरेका थिए ।

अर्को चुनावमा पराजयपछि पनि अबिचलित रञ्जु
त्यसपछिको अर्को एक कार्यकालका लागि भएको संघको चुनाव भने उनले गणितीय रुपमा हारिन् । तर उनी आफ्नो जिम्मेवारीबाट पछि हटिनन् । पदमा भएपनि नभएपनि उनी व्यवशायीहरुसँगै रहीन् ।
लायन्सजस्ता विभिन्न संघसंस्थाहरुमा रहेर एकपछि अर्को सामाजिक कामहरु गर्दै रहिन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ सुनसरीको महासचिव र नेपाल उद्यमशिल महिला सुनसरीको महासचिवका रुपमा उनले जिल्लाभरीका साना उद्यमी उत्पादन गर्ने, तालिम दिने र उत्पादनको बजारीकरणका लागि सहयोग गर्ने काम गरिरहेकी छिन् ।
उनले यसबिचमा घरेलु उत्पादनको प्रदर्शनी मेलासमेत लगाइन् भने अन्य विभिन्न सामाजिक सरोकारका विषयमा समेत व्यवशायीहरुको पक्षमा निरन्तर क्रियाशिल छिन् ।

अध्यक्षको दौडमा रन्जु
रञ्जु अहिले युवा व्यवशायीहरुको प्यानल बनाएर चुनावी मैदानमा छिन् । उनको प्यानलमा केही पुराना र धेरै नयाँ उम्मेदवारहरु छन्, जो आफ्नो क्षेत्रमा खारिएर संघको नेतृत्व लिनको लागि अघि सरेका छन् ।
आफूले पाएको जिम्मेवारीलाई अनुशासित रुपमा निर्वाह गर्ने खुबी रञ्जुमा छ । सदस्य हुँदा नै पनि धेरै रचनात्मक काम गरेकी रन्जु अबको उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्षकी उम्मेदवार छिन् । अध्यक्ष भएपछि अहिलेसम्मको सबै संस्थागत सीप, अहिलेसम्मको सबै ऊर्जा अनि अनुभवलाई इटहरीको व्यवशायीक क्षेत्रको संस्थागत विकासका लागि उनी खन्याउन चाहन्छिन् ।
अग्रज व्यवशायीहरुले इटहरीमा उद्योगधन्दा र व्यवशायको विकासमा धेरै योगदान दिएको सम्झँदै उनी भन्छिन्, ‘वहाँहरु सबैलाई सम्मान गर्दै, सबैसँग सल्लाह लिएर अनि सबै व्यवशायीहरुको भावनालाई समेटेर म दुई वर्षमा गर्ने कामहरुको सुची बनाएर अघि बढ्नेछु ।’

को–को छन् प्यानलमा ?
सिग्देलको प्यानलमा २७ वर्षका युवासमेत सदस्य छन् । सिग्देल आफैपनि अहिले अध्यक्षका अन्य उम्मेदवारहरुभन्दा युवा हुन् । अग्रजहरुसँग सल्लाह लिँदै नेतृत्व युवाले लिनुपर्ने उनको धारणा छ ।
उनको प्यानलमा महिलातर्फ लीला राई र रुची शाह छन् । यस्तै वाणिज्यतर्फ सुरेश कार्की, ढुण्डीराज गुरागाईँ, राकेश श्रेष्ठ, बलबहादुर न्यौपाने, सुशिल शाह, राजन बानियाँ, हरिप्रसाद गौतम, अनिता निरौला तिम्सिना, दीपक खड्का छन् । यस्तै उद्योगतर्फ राजेन्द्रकेशरी घिमिरे, अभिषेक बस्नेत, दिलिप पराजुली र शिवप्रसाद गुरागाईँ (भुपाल) छन् । यसैगरी वस्तुगत सदस्यतर्फ उमानाथ दाहाल र पुष्पनारायण चौधरी उम्मेदवार छन् । पुष्पनारायण चौधरी इटहरीको पहिलो जाति घोषित थारु समुदायबाट उद्योग वाणिज्य संघ इटहरीको इतिहासकै पहिलो थारु प्रतिनिधिसमेत हुन् ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय