पथरी,प्रदेश १ का वन वातावरण तथा भूसंरक्षणमन्त्री शेखरचन्द्र थापाको ५८ बर्षको उमेरमा निधन भएको छ । मोरङ क्षेत्र ३ को प्रदेशसभा ‘१’ का नेपाली कांग्रेसका उम्मेदवार थापाको उपचारका क्रममा नोबेल अस्पताल बिराटनगरमा निधन भएको हो ।उम्मेदवारी दर्ताकै दिन असोज २३ गते बिरामी भएपछि उहाँलाई असोज २४ गते विराटनगरको नोबेल मेडिकल कलेजमा भर्ना गरिएको थियो । परीक्षणका क्रममा ढेंगु संक्रमण देखिएको थियो । उहाँलाई निमोनिया समेतका कारण स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि असोज २७ गते हेलिकप्टरमार्फत काठमाडौंको ह्याम्स अस्पताल लगिएको थियो । ह्याम्स अस्पतालमा १७ दिन आइसियु र ५ दिन वार्डमा राखेर उपचार गरेपछि उहाँलाई विराटनगरमै फर्काइएको थियो । पथरी शनिश्चरे ८ सखरा निवासी थापाका श्रीमति र एक छोरा छन । नेपाली काँग्रेसका प्रदेश सदस्य थापा लामो समयसम्म पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको स्वकीय सचिव हुनुहुन्थ्यो । २०७४ को निर्वाचनमा उहाँ कांग्रेसको समानुपातिकबाट संसद बन्नुभएको हो । २०७० सालको संविधानसभा निर्वाचनमा तत्कालिन एमाले नेता चण्डी राईसँग पराजित हुनुभएको थियो ।
नयाँ मनोनयन प्रक्रिया सुरु,चुनाव मंसिर ४मै
नेपाली कांग्रेसका उम्मेदवार थापाको निधनपछि मोरङ क्षेत्र नं. ३ (१) मा कांग्रेसको तर्फबाट अर्को उम्मेदवारको मनोनयन प्रक्रिया सुरु गरिएको छ ।निर्वाचन आयोगले सम्वन्धित दलका लागि मात्र निर्वाचन तालिका केही परिमार्जन हुने गरी प्रक्रिया अघि वढाएको हो । मतदानभने मंसीर ४मै हुने निर्वाचन आयोगले जनाएको छ ।




