धनकुटा,नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य हेमराज भण्डारीसहित धनकुटामा क्रियासिल माओवादीका नेताहरुले पदबाट सामुहिक राजीनामा दिएका छन् । गठबन्धनको सीट बाँडफाँटमा असहमति जनाउँदै धनकुटाका माओवादी नेताहरुले सामूहिक राजीनामा दिएका हुन । माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य भण्डारी, प्रदेश कमिटी सह–सचिव ऋषिराम ढुंगाना, जिल्ला संयोजक डिल्लीराम राईसहितका नेताहरुले पार्टीबाट सामुहिक राजीनामा दिएका हुन् ।धनकुटामा क्रियाशिल १५० जना नेताहरुले सामुहिक राजीनामा दिएको पत्रकार सम्मेलन गरी जनाएका छन ।पोलिटब्यूरो सदस्य भण्डारीलाई माओवादी केन्द्र धनकुटाले प्रतिनिधि सभा निर्वाचनका लागि जिल्लाबाट उम्मेद्वार सिफारिस गरेको थियो । धनकुटा इन्चार्जसमेत रहेका भण्डारी आफुलाई पार्टीको हसियाहतौडा चिन्हमा उम्मेद्वार बन्न दिन आग्रह गर्दै केही दिन अघि केन्द्रिय अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न जानुभएको थियो ।
पार्टीको बन्धन तोडियो,अब स्वतन्त्र उठिन्छ ःनेता भण्डारी
पत्रकार सम्मेलनमा बोल्दै नेता भण्डारीले राजीनामा दिएर पार्टीको बन्धन तोडेकाले अब जनताको हितका लागि स्वतन्त्र उम्मेद्वार बन्ने घोषणा गर्नुभयो । अब प्रचण्ड सकारात्मक भएर हसिया हतौडा चिन्हमा उम्मेद्वार बन्न प्रस्ताव गरे भनेपनि आफु त्यसका लागि तयार नहुँने उहाँको अडान छ । पार्टीहरु स्वार्थ केन्द्रित भएर पदका लागि गठबन्धन गरेर पार्टीको अस्तित्व समाप्त पार्न तल्लिन हुनु गलत भएको उहाँको तर्क छ ।
यसअघि बसेको उहाँहरुको बैठकले हेमराज भण्डारीको नेतृत्वमा चल्ने स्वतन्त्र अभियानलाई सहयोग गरी निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ । भण्डारी २०६४ सालमा धनकुटाबाट संविधानसभा सदस्य निर्वाचित हुनुभएको थियो ।गठबन्धनबाट धनकुटाको सीट नेपाली कांग्रेसले लिने लगभग निश्चित छ । एउटा मात्रै संघीय संसद क्षेत्र रहेको धनकुटाबाट कांग्रेस नेता सुनिलबहादुर थापा र जसपाका रकम चेम्जोङ्गले गठबन्धनबाट प्रतिनिधि सभाका लागि उम्मेदवारीको दाबेदारी गरिरहेका छन्। माओवादीले थापालाई भोट नहाल्ने भन्दै पार्टीमै रहेर गठबन्धनमा घात गर्नुभन्दा स्वतन्त्र अभियानबाट चुनाव लड्ने निर्णय भएको पोलिट्ब्यूरो सदस्य हेमराज भण्डारीले बताउनुभयो । अघिल्लो निर्वाचनमा बाम गठवन्धन हुदाँ समेत माओवादी केन्द्रले संघ र प्रदेश गरी तीन वटै सिट पाएको थिएन । सबै सिट एमालेले लिएको थियो ।





