उर्लाबारी, १८ भदौ
उर्लाबारी–६ स्थित सूर्य बचत तथा ऋण सहकारी संस्थाको लाखौं रुपैयाँ ठगी भएको संस्थाका अध्यक्ष तेजनाथ घिमिरेले स्वीकार गरेका छन् । आज आयोजित संस्थाको २२ औं साधारणसभामा उनले संस्था ठगीमा परेपनि शेयर सदस्य सुरक्षित रहेको बताए ।
‘संस्था ठगिमा परेको होे, तर शेयर सदस्य ठगीमा परेका छैनन्’, अध्यक्ष घिमिरेले भने, ‘शेयर सदस्यहरुको एक रुपैयाँ पनि हिनामिना हुन दिँदैनौ ।’ शेयर सदस्यहरुको बचत सुरक्षित रहेको बताउँदै उनले शेयर सदस्यहरुलाई भने, ‘तपाईहरु बिचलित नहुनुहोस्, संस्था ट्रयाकमै छ, तपाईहरुको एक रुपैयाँ पनि दायाँ वायाँ हुन दिदैनौँ ।’
छानविन समितिको प्रतिवेदनअनुसार २६ लाख ९८ हजार ४० रुपैयाँ हिनामिना भएकोले त्यसमा संलग्न कर्मचारीविरुद्ध प्रहरी कार्यालयमा जाहेरी दिएको उनले बताए । अध्यक्ष घिमिरे बोल्दै गर्दा केही शेयर सदस्यले हो–होल्ला गरेपछि उनले भने, ‘मलाई पहिला बोल्न दिनुहोस्, त्यसपछि तपाईहरु आफ्नो कुरा राख्नुहोस् ।’
विगत चार महिनादेखि नै आरोपितहरुले संस्थाको ठगी गर्न सुरु गरेपनि सञ्चालकहरुले ध्यान दिन नसकेकोले रकम हिनामिना भएको सचिव गोपाल भट्टराईले स्वीकारेका छन् । ‘हस्ते चेक र शेयर सदस्यबाट संकलित रकमबाट ठगी गरिएको छ’, उनले भने । सभाका प्रमुख अतिथि रहेका उर्लाबारी–६ का वडाध्यक्ष चिन्तामणि पौडेलले रकम हिनामिनाको विषयलाई लिएर अनावश्यकरुपले झै–झगडा गर्न नहुने तर्क गरे । ‘झगडा गरेर हुल्दुंगा गरेर हुँदैन, धौर्य गर्नुपर्छ’ उनले भने ।




