धरान,राष्ट्रिय प्रजातन्त्र पार्टी निकट विद्यार्थी संगठनले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको राजीनामा मागेको छ। राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले राजीनामा नदिए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका अध्यक्ष आभाष अधिकारीले विज्ञप्ति जारी गरी मेयर साम्पाङको राजीनामा माग्नुभएको हो । बिज्ञप्तीमा मेयर साम्पाङले सामाजिक सञ्जालमा अभद्र र असभ्य टिप्पणी गरेको तथा इन्जिनियरहरूको मानमर्दन गरेको आरोप लगाइएको छ।
केही दिनअगाडि अगाडी धरानका मेयर साम्पाङले काठमाडौंका मेयर बालेन्द्र शाहप्रति लक्ष्य गर्दै इन्जिनियरहरूलाई कटाक्ष गर्नुभएको थियो ।‘सामाजिक सञ्जालमा अत्यधिक दम्भ र आफूबाहेक अरू कोही पनि सक्षम नरहेझैँ शैलीमा इन्जिनियरको क्षमता र इन्जिनियरिङ पेसाप्रति धरानका नगर प्रमुखद्वारा गरिएको अपमानपूर्ण टिप्पणीप्रति राप्रवि संगठन घोर भर्त्सना र विरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ।छिमेकी देश भारतमा इन्जिनियरिङ पेसाबाट उदाएका अरबिन्द केजरिवाल राजनीतिमा प्रवेश गरेसँगै नयाँ दिल्लीमा भएको विकासलाई उदाहरण दिँदै धरानका मेयरलाई मर्यादित बन्न आग्रह गरिएको छ।मेयर साम्पाङको तुच्छ शब्दले विवेकशीलता, कूटनीतिक क्षमता र बोलीको परिपक्वतामा प्रश्न उठेको राप्रवि संगठनले उल्लेख गरेको छ। आफू केही गर्न नसक्ने र अरूको कामलाई विरोध गर्ने, धरानको विकासमा अघि बढ्न भ्याइनभ्याइ हुनु पर्ने बेलामा सानो सोच राखेर भ्रष्टाचारी नेताहरूको शैलीलाई पछ्याउँदै हिँड्नुले उहाँ अब अराजकताको बाटोतिर लम्कनुभएको कुरा प्रस्ट्याउँछ,’ विज्ञप्तिमा भनिएको छ ।




