दमक, २० मंसिर
झापाको दमक–४ स्थित चिया दोकान चोकमा अत्याधुनिक सुविधा सम्पन्न पावर फिटनेस पार्क (जिम सेन्टर) औपचारिक रूपमा सञ्चालनमा आएको छ । दमक र उर्लाबारीका शैक्षिक, प्राज्ञिक तथा व्यवसायिक व्यक्तित्वहरूको सामूहिक लगानीमा सञ्चालनमा आएको यो जिम सेन्टरमा एक करोड रुपैयाँभन्दा बढी लगानी रहेको छ ।
जिम सेन्टरको उद्घाटन स्थानीय समाजसेवी मानबहादुर देउजाले गर्नुभएको हो । देउजाले समाजमा स्वास्थ्य र फिटनेसप्रति बढ्दो चासोलाई जिमले थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो । सेन्टरका सञ्चालक गुरुप्रसाद मैनालीका अनुसार जिममा रोबोटिक टेक्नोलोजी प्रयोग भएका अत्याधुनिक उपकरणहरू जडान गरिएको छ । कोशी प्रदेशमै पहिलोपटक मल्टि स्टान्डिङ फ्लाई, इन्क्लाइन्ड लाइनर रोल लगायत अन्तर्राष्ट्रिय स्तरका उपकरण उपलब्ध गराइएको जिम व्यवस्थापनले जनाएको छ ।

फिटनेसप्रेमीहरूले विश्वस्तरीय सेवाको अनुभव पाओस् भन्ने लक्ष्यसहित जिम सञ्चालनमा ल्याइएको सञ्चालक मैनाली बताउनुहुन्छ । उद्घाटनको अवसरमा मंसिर महिनाभर नयाँ सदस्यहरूका लागि विशेष छुटको व्यवस्था समेत गरिएको छ । सेन्टर खुलेसँगै फिटनेस, स्वास्थ्य र आधुनिक व्यायाम प्रविधिमा रुचि राख्नेहरुमा उत्साह देखिएको छ ।






