
उर्लाबारी, १५ असार
उर्लाबारीमा एउटा भनाइ नै छ– जहाँ कठिन, त्यहाँ सचिन । सचिन शाक्य उर्लाबारीका युवा व्यवसायी हुनुहुन्छ । विभिन्न सामाजिक संघसंस्थामा आवद्ध रहनुभएका उहाँको समाजसेवाका पाइलाहरु अघि बढ्दै आएका छन् ।
यसै सिलसिलामा उर्लाबारी–३ स्थित दुर्गा माध्यमिक विद्यालयलाई शाक्यले चार थान सिलिङ पङ्खा हस्तान्तरण गर्नुभएको छ । गर्मीका कारण कक्षाकोठामा पङ्खाको अभावले विद्यार्थीहरूलाई अध्ययनमा असहज भइरहेको अवस्थामा आइतबार विद्यालयमै पुगेर उहाँले पङ्खा सहयोग गर्नुभएको हो ।
नेपाल रेडक्रस सोसाइटी, उर्लाबारी उपशाखा उपसचिव रहनुभएका उहाँ केही दिनअघि युरेस÷जुरेस गठन कार्यक्रममा दुर्गा मावि पुग्नुभएको थियो । विद्यालयको अवस्था प्रत्यक्ष अवलोकन गरेपछि सहयोग गर्ने निर्णय गर्नुभएको थियो । शाक्य र उहाँकी धर्मपत्नी कुमारी शाक्यले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पारसमणि कुइकेल, सहायक प्रधानाध्यापक श्रीप्रसाद न्यौपानेलाई पङ्खा हस्तान्तरण गर्नुभयो । व्यवस्थापन समितिका अध्यक्ष कुइकेलले सहयोगप्रति आभार प्रकट गर्नुभयो । सो अवसरमा विद्यालय व्यवस्थापन समिति सदस्य कल्पना नाल्बो, शिक्षक अभिभावक संघका अध्यक्ष प्रभू राईको उपस्थिति रहेको थियो ।
सिद्धार्थ एग्रिगेट प्रालिका अध्यक्ष समेत रहनुभएका सचिन शाक्यले प्रालिको तर्फबाट उर्लाबारी–१ स्थित नुनसरी आधारभुत विद्यालयमा कार्यरत दुई जना शिक्षकलाई मासिक तलब समेत प्रदान गर्दै आउनुभएको छ ।
