About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १९ साउन
मोरङको उर्लाबारी नगरपालिकाले डिजिटल नागरिक बडापत्र सञ्चालनमा ल्याएको छ । नगरपालिका तथा वडाबाट हुने सेवाप्रवाहका बारेमा जनतालाई सहज रुपमा जानकारी गराउने उद्देश्यले बिहिबारबाट डिजिटल नागरिक बडापत्र सञ्चालनमा ल्याएको हो ।
नगरपालिकाको कार्यालयका साथै वडा नं. १, २ र ३ मा यो सेवा सुरु गरिएको हो । नगर प्रमुख गंगाप्रसाद खरेलले नगरपालिका परिसरमा डिजिटल नागरिक बडापत्रको स्क्रिन टच गरी सेवा शुभारम्भ गरे । प्रविधिको उच्चतम प्रयोगसहित डिजिटल नागरिक बडापत्र राखेसँगै हरेक सेवा लिँदा सेवाग्राहीलाई सहज हुने नगर प्रमुख खरेलले विश्वास व्यक्त गरे ।
डिजिटल बडापत्रको प्रयोगसँगै सेवाग्राहीले आफ्नो कामको सम्बन्धमा सम्पूर्ण जानकारी सजिलै प्राप्त गर्नेछन् । आफूले प्राप्त गर्न खोजेको सेवा सो बडापत्रमा हेरेपछि त्यसका लागि आवश्यक कागजपत्र, दस्तुर तथा सेवा लिन प्रयोग गर्नुपर्ने सम्पूर्ण जानकारी थाहा पाउन सकिन्छ । सो कामका लागि जानुपर्ने कोठा तथा त्यस कोठामा रहेका कर्मचारीको विवरणसमेत सोही बडापत्रमा हेर्न सकिने नगरपालिकाका सूचना प्रविधि अधिकृत रोशन ठाकुरले बताए । डिजिटल बडापत्रमा नगरपालिकाको सम्पूर्ण जानकारीसमेत हेर्न सकिन्छ । नगरपालिकाको कुनै शाखाले दिने सेवासम्बन्धी जानकारी लिनसमेत सोही बडापत्रको प्रयोग गर्न सकिनेछ ।
सबै वडा कार्यालयहरुमा डिजिटल नागरिक बडापत्र राख्ने योजना अनुरुप पहिलो चरणमा तीन वटा वडामा राखिएको र यसलाई निरन्तरता दिने नगरपालिकाले जनाएको छ । नगरपालिकामा आउने सेवाग्राहीले सेवा लिन आउँदा प्रक्रिया बुझ्नै लामो समय लाग्न थालेपछि यस्तो सेवा सञ्चालन गरिएको नगर प्रमुख खरेलले बताए । ‘हामी सकेसम्म सेवाग्राहीलाई बिनाझण्झट सजिलै र छिट्टै सेवा कसरी दिन सकिन्छ भनेर सोेचिरहेका छौँ’, उनले भने ‘त्यसकै लागि हामीले स्मार्ट हेल्प डेस्क नाम दिएर यो सेवा सञ्चालन गरेका हौँ ।’

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय