About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

ताप्लेजुङ, ११ असार
१५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत राष्ट्रिय र प्रदेश स्तरमा सहभागी भई विभिन्न खेल विधामा पदक जित्न सफल मैवाखोला गाउँपालिकाका प्रतिभावान खेलाडीहरूलाई सम्मान गरिएको छ । गाउँपालिकाको तर्फबाट आज एक कार्यक्रमको आयोजना गरी उनीहरूलाई सम्मानपत्रका साथ नगद पुरस्कार प्रदान गरिएको हो । राष्ट्रिय तथा प्रदेश स्तरका प्रतियोगितामा गाउँपालिकाको गौरव बढाउने गरी उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई हौसला दिन तथा खेलकुद क्षेत्रमा अझ प्रगति गर्न प्रेरित गर्न गाउँपालिकाले सम्मान गरेको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयो ।
सम्मानित खेलाडीहरूमा राष्ट्रिय प्रतियोगितामा ३ हजार मिटर दौडतर्फ दोस्रो स्थान हासिल गरेका अमिर लिम्बूलाई रु. ५१ हजार नगदसहित सम्मानपत्र प्रदान गरिएको छ । यस्तै, प्रदेश स्तरीय प्रतियोगिताको त्रिपलजम्प खेलमा दोस्रो स्थान हासिल गर्न सफल राजन बिकलाई रु. २१ हजार, प्रदेशस्तरको उसुमा तेस्रो स्थान प्राप्त गर्ने सरोज लिम्बूलाई रु. १३ हजार र कबड्डी खेलमा प्रदेशबाट राष्ट्रिय स्तरका लागि छनोटमा पर्न सफल मनिता तामाङलाई रु. १३ हजार नगदसहित सम्मानपत्र प्रदान गरिएको हो ।


कार्यक्रममा गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेम, उपाध्यक्ष कमलकुमारी लिम्बू, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देन, वडा नं. १ का वडाध्यक्ष तथा गाउँपालिका प्रवक्ता चन्द्रकुमार तामाङले खेलाडीहरूलाई नगदसहित सम्मान गर्नुभएको हो ।
गाउँपालिका अध्यक्ष वनेमले खेलकुदले युवाहरूको शारीरिक, मानसिक र सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले मैवाखोला गाउँपालिकाका खेलाडीहरूले राष्ट्रिय र प्रदेश स्तरमा पदक जित्नु केवल व्यक्तिगत सफलता नभई सम्पूर्ण गाउँपालिकाको गौरव भएको बताउनुभयो । गाउँपालिकाले खेलकुद विकासका लागि बजेट व्यवस्था गर्दै युवा प्रतिभालाई आवश्यक सहयोग र स्रोत साधन प्रदान गर्ने योजना बनाएको छ । यस सम्मान कार्यक्रमले गाउँपालिकामा खेलकुदको विकास र प्रतिभाको संरक्षणमा सकारात्मक सन्देश प्रवाह गरेको प्रवक्ता चन्द्रकुमार तामाङले बताउनुभयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय