
ताप्लेजुङ, ९ असार
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२।०८३ का लागि ४४ करोड ७१ लाख १६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आज पालिका अध्यक्ष विजयप्रकाश वनेमको अध्यक्षतामा बसेको गाउँसभाको १७ औं अधिवेशनको तेस्रो बैठकमा पालिका उपाध्यक्ष कमलकुमारी लिम्बूले बजेट प्रस्तुत गर्नुभएको हो ।
प्रस्तुत बजेटमा आम्दानीतर्फ वित्तीय समानीकरण संघ ९ करोड ४४ लाख, वित्तीय समानिकरण प्रदेश ८५ लाख २५ हजार, शसर्त अनुदान संघ १७ करोड ९१ लाख, शसर्त अनुदान ६६ लाख ८६ हजार, आन्तरिक आय ६५ लाख, आन्तरिक आय मौज्दात ३ करोड ७१ लाख ५० हजार, राजश्व बाँडफाँट संघ ७ करोड २५ लाख ८७ हजार, राजश्व बाँडफाँट प्रदेश ४४ लाख ३२ हजार, विशेष अनुदान संघ ६८ लाख, समपुरक अनुदान संघ १ करोड ३९ लाख, समपुरक अनुदान प्रदेश १ करोड ५९ लाख, गैरसरकारी संघसंस्थाहरुबाट १० लाख हुने अनुमान गरिएको छ ।
खर्चमा चालुतर्फ २५ करोड ८६ लाख ४१ हजार र पुँजीगत १८ करोड ८४ लाख ७५ हजार विनियोजन गरिएको छ । मैवाखोला गाउँपालिकाले आगामी आवको बजेटमा सामाजिक विकासतर्फ ३ करोड ६३ लाख ६७ हजार, आर्थिक विकासतर्फ २ करोड ७ लाख ३३ हजार, पूर्वाधार विकासतर्फ ७ करोड ४४ लाख ७५ हजार, वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ २२ लाख, सुशासन तथा संस्थागत विकासतर्फ ८ करोड ३९ लाख ६९ हजार रुपैयाँ बजेट विनियोजन गरेको गाउँपालिका प्रवक्ता तथा वडा नं. १ का वडाध्यक्ष चन्द्रकुमार तामाङले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष वनेम पालिकाको दीर्घकालीन सोच ‘सुखी र समृद्ध मैवाखोलाको आधार, अर्गानिक कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार’ लाई ध्यान दिँदै बजेट तर्जुमा गरिएको बताउनुहुन्छ । पालिकाको १७ औं अधिवेशनको पहिलो बैठकमा अध्यक्ष वनेमले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
